क्यापासिटर बैक नराख्ने उद्योगको विद्युत काटिने

Advertisement

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले क्यापासिटर बैंक नराख्ने उद्योगहरुको विद्युत कटौती गर्ने चेतावनी दिएको छ । उद्योगहरुले क्यापासिटर बैक नराख्दा तराइका जिल्लामा विद्युत आपूर्तिमा भोल्टेजको समस्या देखिएको भन्दै प्राधिकरणले त्यस्तो चेतावनी दिएको हो ।

प्राधिकरणको विद्युत प्रणालीबाट आपूर्ति हुने विद्युतमा भोल्टेजको गुणस्तर कायम गर्न र उद्योगको विद्युत लोडको मागलाई सन्तुलन राखी नियमित विद्युत प्रवाहका लागि क्यापासिटर बैक राखिन्छ भन्दै आफ्नो सबस्टेसनहरुमा क्यापासिटर बैंकहरु राखी प्रणालीमा भोल्टेज सुधार गरेको हुन्छ भनेको छ ।

प्राधिकरणको विद्युत बितरण विनियमावली–२०६९ ले पाँच हर्सपावरभन्दा बढी क्षमताको विद्युत मोटर वा वेल्डिङ मेसिन भएका ग्राहकले अनिवार्यरुपमा क्यापासिटर बैक राख्नुपर्ने व्यवस्था गरेको जनाएको छ । तर, विनियमाली विपरित अधिकांश उद्योगले क्यापासिटर बैक राखेका छैनन् भन्दै उसले जसका कारण उद्योग स्वयंले र आमउपभोक्ताले विद्युत आपूर्तिमा भोल्टेजको समस्या व्यहोरिरहेको जनाएको छ ।

क्यापासिटर बैक नहुँदा न्यून भोल्टेजको कारणले लाइन ट्रिप भई विद्युत आपूर्तिमा समस्या हुने, जसको मारमा उपभोक्ता पर्ने भन्दै प्राधिकरणले यसबाट आफूले अनियमित विद्युत आपूर्तिको आरोप मात्रै खेपिरहेको छैन, प्राविधिक चुहावट पनि बढिरहेको छ भनेको छ ।

प्राधिकरणको प्राविधिक टोलीले पूर्वका १४० उद्योगको स्थलगत निरीक्षण गर्दा ४३ वटा उद्योगले मात्रै क्यापासिटर बैक राखेको फेला पारेको थियो । क्यापासिटर बैंक राखेका अधिकांश उद्योगले पनि आवश्यकता र तोकिएको मापदण्ड अनुसारको नराखेको प्राधिकरणको आरोप छ ।

धेरै उद्योगले क्यापासिटर बैक नराखेको फेला परेपछि निश्चित समय दिएर उनीहरुलाई अनिवार्यरुपमा राख्न लगाउन लागिएको भन्दै प्राधिकरणले उद्योगलाई निश्चित समय दिएर क्यापासिटर बैक राख्न आग्रह गरिने जनाएको छ । त्यसरी आग्रह गर्दा पनि क्यापासिटर बैंक नराखे लाइन काट्नेसम्मको कारबाही गर्ने चेतावनी दिएको छ ।

निजी ऊर्जा उत्पादकहरुले पनि आफ्नो जलविद्युत केन्द्रहरुबाट भोल्टज सुधारको लागि दिनुपर्ने ‘रियाक्टिभ पावर’ नदिएर ‘एक्टिभ पावर’ मात्र आपूर्ति गरिदिएकाले भोल्टेज सुधार गर्न कठिनाई हुने गरेको प्राधिकरणको गुनासो छ ।

भारतमा गर्मी बढेका कारण भोल्टेज ड्रप हुँदा त्यहाँबाट आयात भइरहेको विद्युत झनै कम भोल्टेजको रहँदा प्रणालीमा समस्या देखिएको जनाइएको छ । नेपालको तराई क्षेत्रमा प्रचण्ड गर्मीको कारण फ्यान तथा एसी चल्ने हुँदा गर्मी समयमा भोल्टेज ड्रपको समस्या अझ बढ्ने गरेको छ ।

मध्य र सुदुरपश्चिममा जलविद्युत केन्द्र पर्याप्त नरहेको र भारतबाट आयातीत विद्युत आपूर्ति गर्नुपर्दा गर्मीमा भोल्टेजको समस्या देखिएको भन्दै कालिगण्डकी, मस्र्याङ्दी लगायतका विद्युत केन्द्रबाट आपूर्ति गर्दा पनि लामो प्रसारण लाइनको कारणले भोल्टेज ड्रपको समस्या हुने गरेको छ ।

Advertisement

Advertisement

Advertisement