उद्योग परिसंघ र भारतको पीएचडी चेम्बरका प्रतिनिधिबीच भेटघाट

Advertisement

काठमाडौंः नेपाल उद्योग परिसंघ र भारतको पीएचडी चेम्बर प्रतिनिधिबीच बिहिबार परिसंघको सचिवायलमा भेटघाट तथा छलफल सम्पन्न भएको छ । परिसंघले प्रेस विज्ञप्ति जारी गर्दै चेम्बरका प्रतिनिधिसँग छलफल भएको जानकारी दिएको हो ।

सो भेटघाटका अवसरमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले हाल नेपालले स्थिर सरकार प्राप्त गरे पश्चात निजी क्षेत्र तथा लगानीकर्ताको लागि प्रसस्त अवसरहरु प्राप्त भएको बताए । भारत नेपालको छिमेकी तथा ठूलो व्यापारिक साझेदार भएकाले नेपाली निजी क्षेत्रले त्यहाँका लगानीकर्तासँग अपेक्षा गरेको उनले बताए ।

परिसंघ र पिएचडि चेम्बर जस्ता संस्थाहरु सहकार्य गरी अगाडि बढ्नु पर्ने धारण उनले ब्यक्त गरे ।

नेपाल भारत बीचको वर्तमान व्यापारिक सन्धिको मर्म विपरित भारतिय पक्षबाट बेला बखत गैर भन्सार अवरोधहरु श्रृजना गरि नेपालको भारत तर्फको निर्यातलाई अवरोध हुने गरेको र यस्ता विषयहरुमा समेत परिसंघ तथा पिएचडि जस्ता संस्थाहरुले सहकार्य गरि दुवै देशका सरकारको ध्यानाकर्षण गर्न जरुरी रहेको उनको भनाइ थियो । नेपालको व्यापारको सबै भन्दा ठूलो हिस्सा भारतको रहेको र ठूलो राष्ट्र भएकोले भारतीय पक्षले यस तर्फ बढी लचिलो हुनुपर्नेमा उनले जोड दिए ।

सो छलफलका क्रममा पिएचडि चेम्बरका अध्यक्ष अनिल खेतानले नेपालका लगानीका सम्भावना रहेका प्रमुख क्षेत्रको पहिचान गरी त्यसमा विस्तृत अध्ययन हुनुपर्नेमा जोड दिदै यसमा पिएचडि चेम्बरले पहल गर्न सक्ने बताए । यसका अतिरिक्त नेपालको औद्योगिक क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति व्यवस्थापनमा समेत पिएचडि चेम्बरले आफ्नो अनुभवको आधारमा परिसंघसँग सहकार्य गर्न सक्ने विचार व्यक्त गरेका थिए ।

पिएचडि चेम्बरले नेपालका लागि भारतीय पूर्व राजदूत के भि राजन लगायतको सहकार्यमा ‘इन्डिया–नेपाल सेन्टरको स्थापनाको पहल गरिरहेको छ । यसले नेपालमा भारतीय लगानीको अवसर श्रृजना गर्न सक्ने प्रसस्त सम्भावनाहरु रहेका छन् ।

छलफलमा पिएचडि चेम्बरका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो भने परिसंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, गभर्निङ काउन्सिलका सदस्य तथा राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement