रसुवागढीतर्फ जाने सडकहरु सुधार गर्न यातायातमन्त्रीसँग नुवाकोटवासीको माग

Advertisement

काठमाडौंः काठमाडौँबाट नुवाकोटको त्रिशूली बजार हुँदै रसुवागढीसम्म जाने तीन वटा सडक दुरवस्था अन्त्य गर्न नुवाकोटका राजनीतिक दलका नेता एवं नुवाकोटवासीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग आग्रह गरेको छ ।

टोखा–केरुङ, गल्छी–त्रिशूली र पासाङल्हामु मार्गअन्तर्गत बालाजु–त्रिशूलीका सडक तीन चार वर्षदेखि खनेर छाडिएको र वर्षामा हिलाम्य भई सवारी साधन र मानिसहरुलाई आवतजावत गर्न गाह्रो परेकाले ती बाटामा हाललाई यस वर्षको वर्षा अगावै सुधार गर्न उनीहरुले अनुरोध गरे ।

पूर्वसांसद राजेन्द्र लोहनीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले खासगरी रसुवागढीसम्म जाने छोटो बाटो टोखा–छहरे मार्गको अवस्था बेहाल र जोखिमपूर्ण भएको र यात्राका क्रममा बाटाबाट नै फर्कनुपर्ने स्थिति भएकाले गम्भीरतापूर्वक सुधार गरिदिन आग्रह गरे ।

सो अवसरमा मन्त्री महासेठले मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटासँग सल्लाह गरी एक घण्टाभन्दा बढी समयसम्म रोकिनुपर्ने स्थिति नहुने आश्वासन दिए । सापकोटाले हाल सो मार्गमा कालोपत्रे गर्ने काम भइरहेको पनि जानकारी दिए ।

सोही सिलसिलामा मन्त्री महासेठले टोखा–छहरे मार्गमा सुुरुङ निर्माण गर्न प्राथमिकता दिई चालु आवदेखि डिजाइनको काम गरिने जानकारी दिए । उनले निर्माणाधीन सडक आयोजना केन्द्रले पूरा गरी सम्बन्धित प्रदेशलाई हस्तान्तरण गरिने पनि बताए । सो अवसरमा पूर्वसांसद गोविन्द नेपाली, नेकपाका नेता अच्युत पाण्डे, विष्णु लोहनी, केपी लामिछाने, पुरण आचार्य, राप्रपाका नेता भरत पाठक, अधिवक्ता कुमार अधिकारी, ध्रुव पाण्डेलगायतको सहभागिता थियो ।

Advertisement

Advertisement

Advertisement