बडाध्यक्षहरु नै बिजुली चोरीमा संलग्न, पक्राउ परेका वडाध्यक्षहरु जरिवाना तिरेर छुटे

Advertisement

काठमाडौंः विद्युत चोरीका संलग्न दुई वडाध्यक्षहरु पक्राउ परेका छन् । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरिएको हो ।

सुरक्षाकर्मीसहित खटिएको विद्युत प्राधिकरणको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । वडाध्यक्ष लम्सालले कुन्ताबेंसीमा हुकिङ गरी कुखुरा फर्ममा विद्युत प्रयोग गरेको फेला पारेपछि प्रहरीसहित प्राधिकरण काभ्रे बितरण केन्द्रकोे टोलीले उनलाई पक्राउ गरेको हो ।

लम्साललाई जिल्ला प्रहरी कार्यालय धुलिखेल बुझाइएकोमा ४१ हजार दुई सय ८७ रुपियाँ जरिवाना तिरी शुक्रबार रिहा भएका छन् । यसैगरी, वडाध्यक्ष चौधरीले हुकिङ गरी घरमा विद्युत प्रयोग गरेको फेला पारेपछि उनीसहित हुकिङ गर्ने २१ जनालाई पक्राउ गरिएको छ । वडाध्यक्ष चौधरी १५ हजार जरिवाना तिरी शुक्रबार छुटेका छन् ।

विद्युत चोरी नियन्त्रण ऐन–२०५८ र नियमावली २०५९मा विद्युत चोरी गरेर प्रयोग गरिएका उपकरणलाई लाग्ने लोडको आधारमा हिसाब गरी एक वर्षको जरिवाना तिराउने व्यवस्था छ । यही व्यवस्थाअनुसार निर्धारण गरिएको जरिवाना तिरी दुवै वडाध्यक्ष छुटेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको प्रणालीमा चैतसम्ममा २० दशमलव ०६ प्रतिशत विद्युत चुहावट छ । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement