आकाशबाट धमिलो बर्षा हुँदा सबै आश्चर्यचकित, बाताबरण प्रदुषणको परिणामः मौसमविद्

dhamilo_barsha_dust_raining

बुटवलः आकाशबाट एकाएक धमिलो पानीको बर्षालाई सबै आश्चर्य चकित भइरहेको बेला मौसमविद्हरुले यसलाई बाताबरण प्रदुषण र भारततर्फबाट आएको धुलोको परिणाम भएको बताएका छन् ।

धमिलो पानीको बर्षा हुने क्रम बिहीबार राति नै सुरु भएको थियो । उक्त दिन नगन्य मात्रामा धमिलो बर्षा भएकोमा शुक्रबार राति भने सबैले महशुस गर्नेगरी बर्षा भयो । धमिलो बर्षा हुने कुरालाई पूरानो पुस्ताले असिष्टको संकेत भने पनि मौसमविद्हरुले भने यसलाई बाताबरण प्रदुषण र भारतको राजस्थानदेखि आएको धुलोको कारण भएको बताउँछन् ।

united_cement

मौसमविद् बरुण पौडेलका अनुसार भारतको राजस्थानदेखि आएको धुलो र आन्तरिक धुँवा धुलोका कारण पानीसँगै डष्ट मिसिएर झरेको हो । नेपाल जल तथा मौसम विज्ञान विभागले धुलोका कण सहितको वर्षा काठमाडौंबाहेक पश्चिम तरार्इका अधिकांश जिल्लामा भएको बताएको छ ।

शुक्रबार बिहान देखिनै रुपन्देही कपिलबस्तु, नवलपरासी, दाङ, बाँके लगायतका जिल्लामा भारतबाट हावा हुरीले ल्याएको धुँलोका कणले आकास ढाकेको थियो । अहिले बर्खाको समय भएकोले त्यसरी उँडेको धुलो बर्षासँगै पानीसँगै झरेको पौडेल बताउँछन् ।

भारतको राजस्थानको मरुभुमी, लखनउ, दिल्लीमा बुधबार रातीदेखि ठूलो हावा हुरी चलेको थियो । हुरीले राजस्थानको धुँलो भारतको दिल्ली उत्तर प्रदेश हुँदै बिहीबारदेखि नै पश्चिम नेपालको तराइ प्रवेश गरेको विभागको भनाई छ । आन्तरिक प्रदुषण बढी हुने स्थान तथा जिल्लाहरुमा पानीमा धुलो अथवा फोहोरको मात्रा बढी छ भने अन्य स्थानमा कम रहेको पौडेलको भनाई छ ।

यो धमिलो पानी मानिसका लागि मात्रै नभएर पशुहरुका लागि पनि प्रयोग गर्न उपयुक्त नहुने भन्दै विभागले धुलोसँगै विभिन्न उद्योग कलकारखानाबाट निस्कने रसायनयुक्त प्रदूषण पनि पानीमा मिसिने भएकाले यसले स्वास्थ्यमा असर गर्न सक्ने बताएको छ ।

वर्षा भनेपछि पानी र कहिलेकाही असिनासम्म देख्दै आएको नयाँ पुस्ताले धमिलो पानीको बर्षा देखेपछि आश्चर्य मानेको सामाजिक सञ्जालहरुमा देख्न पाइन्छ । विशेषगरी बुटवल भैरहवा आसपासका क्षेत्रमा हिलो जस्तै पानी बर्षिएपछि धेरैमा डर र त्रास पनि देखिएको छ ।