काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्षलाई पूर्वाधार बर्षको रुपमा मनाउने

Advertisement

काठमाडौंः काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षलाई पूर्वाधार विकासको वर्षका रूपमा मनाउने घोषणा गरेको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शनिबार आर्थिक वर्ष २०७५।७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिइने घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रममा दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना एवं क्षेत्रगत गुरुयोजना तयार गरिने उल्लेख छ। निजी शैक्षिक संस्थालाई नियमन, महानगर अस्पताल सञ्चालन, जात्रापर्वलाई अन्तर्राष्ट्रियकरण गरिनेलगायतका कार्यक्रम महानगरपालिकाले सार्वजनिक गरेको छ ।

सवारीसाधनको प्रदूषण जाँचलाई कडाइ गरिने र पुराना भवन हटाई सुविधासम्पन्न एकीकृत बस्ती विकास गर्ने नीति महानगरपालिकाको छ । महानगरपालिकाले निजी तथा साना सवारीसाधनको प्रयोगलाई निरुत्साहित गर्ने भएको छ भने सार्वजनिक यातायातका क्षेत्रमा सुविधायुक्त बस, मोनोरेल, मेट्रोरल, केबलकारजस्ता विकल्पको अध्ययन गरी उपयुक्त र बृहत्तर सहरी यातायात योजना बनाउने घोषणा गरेको छ ।

मोनोरेल र केबलकारको सम्भाव्यता अध्ययन गर्न महानगरपालिकाले छुट्टै एकाइ गठन गर्नेछ । ‘सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, विज्ञापन करलाई एकीकृत रुपमा सञ्चालन गर्नेछौं। सबै प्रकारका कर असुलीलाई प्रभावकारी बनाउन आवश्यक ऐन, नियम, कार्यविधि, निर्देशिका र मापदण्ड बनाई लागू गरिनेछ ।’

प्रमुख शाक्यले महानगरपालिकाको आन्तरिक स्रोतको प्रभावकारी परिचालनका लागि प्रगतिशील कर प्रणालीको विकास गरेर पूर्वाधार निर्माणमा आमूल परिवर्तन गर्ने दाबी गरे। ‘सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, विज्ञापन करलाई एकीकृत रुपमा सञ्चालन गर्नेछौं,’ शाक्यले भने ।

अब महानगरभित्र सञ्चालन हुने संघसंस्था एवं व्यापार व्यवसाय अनिवार्य रुपमा महानगरपालिकामा दर्ता हुनुपर्ने व्यवस्था छ। ‘महानगरपालिकाका सबै प्रकारका कर असुलीलाई प्रभावकारी बनाउन आवश्यक ऐन, नियम, कार्यविधि, निर्देशिका र मापदण्ड बनाई लागू गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ, ‘सबै करदाताको विवरण डिजिटल प्रणालीमा आबद्ध गरेर करदातालाई काठमाडौं स्मार्ट ट्याक्स पेयर कार्ड उपलब्ध गराइनेछ ।’

मुख्य चोकहरुमा आधुनिक ट्राफिक लाइट जडान गरिने, स्मार्ट पार्किङको व्यवस्था गरिने र सहरका विभिन्न ठाउँमा स्मार्ट–भर्टिकल पार्किङ र अन्डरग्राउन्ड पार्किङ निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरपालिकाले प्रदूषण नियन्त्रणका लागि उपत्यका छिर्ने नाकामा रहेका स्थानीय तहसँग समन्वय गरेर ‘भेहिकल क्लिनिङ सेन्टर’ निर्माण गर्ने भएको छ ।

महानगरपालिकाले प्रत्येक वडामा कम्तीमा एउटा ज्येष्ठ नागरिक मनोरञ्जन तथा सेवा केन्द्र विस्तार गरिनेछ । ज्येष्ठ नागरिकलाई साझा बसमा निःशुल्क यात्राको व्यवस्था गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालले नीति तथा कार्यक्रममा सबै क्षेत्र समेटिएको दाबी गरे । ‘सरसर्ती हेर्दा नीति कार्यक्रम आकर्षक देखिन्छ,’ उनले भने, ‘तर अधिकांश नीति तथा कार्यक्रम गत वर्षबाटै ल्याइएका छन् ।’ आजको नागरिक दैनिकमा प्रकाशित समाचारको अंश ।

Advertisement

Advertisement

Advertisement