गैरआवासीय नेपालीहरुको मन्त्रीलाई प्रश्न- हामी भूतपूर्व नेपाली कि नेपाली ?

Advertisement

सानफ्रान्सिस्को (अमेरिका)ः पर्यटनमन्त्री रविन्द्र अधिकारीले नेपाली सधै नेपाली नै हुन्छ भन्दै भूतपूर्व र वर्तमान भन्ने हुँदैन भनेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) र एनआरएनए अमेरिकाले आयोजना गरेको विज्ञ सम्मेलनको शनिवार उद्धाटन गर्दै अधिकारीले गैरआवासीय पनि नेपाली नै भएको बताए ।

हामी नेपाली जहाँ बसे पनि नेपाली नै हौँ भन्दै उनले भने- देश बनाउन स्वदेशमा रहेका नेपालीको क्षमताले मात्रै पुग्दैन, गैरआवासीय नेपालीहरुको पनि सहयोग र सक्रियता चाहिन्छ । गैरआवासीय नेपालीहरु सबै धनी र सम्पन्न भएर देश चाहीं सम्पन्न हुन सकेन भने कोही नेपाली सुःखी हुन नसक्ने अधिकारीको भनाई छ ।

वर्तमान सरकारकै एक जना मन्त्री (लालबाबु पण्डित)ले केही समय अघि विदेशमा स्थायी रुपमा बस्ने नेपालीलाई भूतपूर्व नेपाली हुन भनेकोप्रति अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुले अधिकारीसमक्ष प्रश्न उठाएका थिए ।

मन्त्री अधिकारीले सरकारले विदेशमा बस्ने नेपालीको दक्षता र दक्षतालाई राम्रोसँग बुझेको छ भन्दै हामी संविधानमा उल्लेखित भएअनुसार गैरआवासीय नेपालीहरुलाई नागरिकता दिन अर्को बर्ष कानुन बनाइने बताए ।

नेपाली जनसम्पर्क समितिका पुर्व संयोजक विष्णु सुवेदीले वर्तमान सरकारका मन्त्रीले विदेशमा बस्ने नेपालीलाई पूर्वनेपाली भनेकोमा आपत्ति जनाउँदै सरकारको धारणा स्पष्ट पार्न आग्रह गरे । सहभागीहरुले पनि यस विषयमा बोल्न मन्त्री अधिकारीलाई आग्रह गरेका थिए ।

पूर्व परराष्ट्र प्रकाशचन्द्र लोहनीले गैरआवासीय नेपालीलाई कुन प्रक्रियाबाट उपयोग गर्ने ? यो स्पष्ट गरेर जाँदा नेपाललाई फाइदा हुने बताए । उनले देशको स्वतन्त्रता, नेपालमा भएका मानवअधिकारका हनन् जस्ता विषयमा पनि आवाज उठाएर विदेशमा बस्ने नेपालीले विगतमा पनि दवाव दिँदै आएको र आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।

पूर्वपर्यटन राज्यमन्त्री रेवती भुसालले नेपाली कुनै पद होइन जुन पूर्व र वर्तमान हुन सकोस् भन्दै यो भावना र संस्कृति भएकाले कानूनी हैसियत फेरिने कुरा हुँदैन भने ।

अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले गैरआवासीय नेपालीहरुसँग नेपालको समृध्दिमा योगदान दिनसक्ने क्षमता रहेको बताए । संघका अध्यक्ष भवन भट्टले सबै हात एकै साथको भावना अनुसार बढ्ने बेला भएको बताए । उनले यसको सुरुवात सरकारले प्रधानमन्त्रीको राजकीय भ्रमणहरुमा एनआरएनएलाई सहभागी गराएर गरेको हामीले अनुभुति गरेका छौं भने ।

भट्टले नेपाल समृद्धितर्फ अघि बढिरहेको छ यसमा हामी विदेशमा बस्नेहरुले पनि आफ्नो भूमिका खोजेर सहयोगी बन्नु पर्छ भन्दै नेपाललाई समृध्द बनाउन देशभित्रको स्रोत साधनले मात्रै पुग्दैन त्यसैले बाहिरको प्रविधि र स्रोत साधन भित्र्याउन सक्नुपर्छ भने ।

संघका पूर्व अध्यक्ष जीवा लामिछानेले एक जना मन्त्रीबाटै गैरआवासीय नेपाली भूतपूर्व हुन भन्ने अभिव्यक्ति आयो भनेर चिन्ता लिनुनपर्ने बताए । गैरआवासीय नेपालीलाई संविधानले नै उनीहरुका हक अधिकारको संरक्षण गरेको उनले बताए ।

शनिवार दिनभर विभिन्न विषयका ३० जना विज्ञले शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास, समाजिक क्षेत्र लगायतका विषयमा विदेशमा बसेर प्राप्त ज्ञानलाई कार्यपत्रका रुपमा प्रस्तुत गरेका थिए । विदेशका नेपालीहरुले आर्जित यी दक्षता र क्षमतालाई कसरी नेपालमा लैजान सकिन्छ ? भन्ने विषयमा कार्यक्रममा छलफल भएको थियो । आइतवार एनआरएनए अमेरिकाको सातौं बार्षिक साधारण सभा हुने छ

Advertisement

Advertisement

Advertisement