ओली बेइजिङ पुगे, मोदीको शैलीमा चिनियाँ भाषामा सम्बोधनको प्रयास

PM-KP-Oli-at-Beijing-Airport-himalaya_airlines

फाइल फोटो

बेइजिङः प्रधानमन्त्री केपी ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ आइपुगेका छन् । ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

बेइजिङ उत्रेपछि ओली यहाँस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी भए । गृहमन्त्री, परराष्ट्रमन्त्री, ऊर्जामन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसहित एकसयभन्दा बढिको नेतृत्व गर्दै चीन भ्रमणमा आएका ओलीले हिमाल वारिपारिको कनेक्टिभिटीलाई बलियो बनाएर दुईपक्षीय सहकार्य अघि बढाउने बताएका छन् ।

nic-asia-ad

दूतावासको कार्यक्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शैलीमा चिनियाँ भाषामा सम्बोधनको पहिलो लाइन बोलेर आफ्ना कुराको थालनी गरेका थिए । मोदीले यसअघि पटक पटक नेपाल आउँदा नेपाली भाषाबाट सुरु गरेर आफ्नो सम्बोधन गर्दै आएका थिए ।

ओलीले चीन नेपालको भरपर्दो छिमेकी तथा मित्रराष्ट्र भएको बताउँदै अबका दिनमा दुईपक्षीय सहकार्यलाई बढाएर लैजाने बताए । नेपालले एक चीन नीतिलाई सदा समर्थन गर्दै आएको उनले स्पष्ट पारे ।

चीनले गरेको तीव्र विकासबाट नेपालले पनि लाभ लिन चाहेको बताउँदै ओलीले बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई)मा नेपाल आबद्ध भइसकेकोले अब ठूला लगानी र हिमालपारिको कनेक्टीभिटीमा जोड दिनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले आफ्नो यसअघिको भ्रमणका क्रममा भएको सम्झौताहरुको कार्यान्वयन र थप नयाँ सम्झौताहरू गरिने पनि जानकारी दिए । उनले मुलुक र जनताको हितलाई ध्यानमा राखेर नै सन्धि र सम्झौताहरु हुने बताए ।