जापानद्वारा कोलम्बिया पराजित, सान्चेजले पाए रातोकार्ड

Advertisement

मस्कोः कोलम्बियाको दश सदस्यीय टोलीलाई पराजित गर्दै विश्वकप फुटबल प्रतियोगितामा जापानले पहिलो जित हात पारेको छ ।

कोलम्बियाका खेलाडी कार्लोस सान्चेजले रातो कार्ड पाएपछि दशमा सीमित भएको कोलम्बीयाली टोलीसँग जापान २–१ गोल अन्तरले विजयी भएको हो ।

कोलम्बियाका मिडिफिल्डर सान्चेजले जापानविरुद्धको खेलको तेस्रो मिनेटमा नै रेड कार्ड पाएका हुन् । उनले पाएको यो रातोकार्ड २१औँ संस्करणको विश्वकपमा प्रयोग भएको पहिलो रातो कार्ड हो ।

सान्चेजले डिबक्सभित्र ह्यान्ड गरेपछि उनी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए भने जापानले पेनाल्टी पायो । त्यही पेनाल्टीलाई शिन्जी कागावाले गोलमा परिणत गर्दै जापानलाई अग्रता दिलाए ।

खेलको ३९औँ मिनेटमा कोलम्बियाले पाएको फ्रिकिकलाई जुवान क्वीन्टेरोले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि दबाबमा परेको जापान पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकिएको थियो । ७३औँ मिनेटमा जापानले फेरी अग्रता लियो । युया ओशाकेले काइसुके होन्डाको कर्नरलाई गोलमा परिणत गरेका थिए ।

पछिल्लो पटक सन् २०१४ को विश्वकपको समूह चरणमा कोलम्बियाले जापानलाई ४–१ ले हराएको थियो । रुस विश्वकपको खेलबाट जापानले अघिल्लो विश्वकपमा कोलम्बियासँग भोगेको हारको बदलासमेत लिएको छ ।

विश्वकपमा आजै पौने नौ बजेदेखि पोल्याण्डसँग सेनेगलले भिड्न लागेको छ भने पौने १२ बजे इजिप्टले आयोजक राष्ट्र रुसको सामना गर्ने भएको छ ।

Advertisement

Advertisement

Advertisement