अन्ना क्यासिनोका मजदुरलाई अझै दुःख दिने होटलको योजना, सर्वोच्चको आदेश मान्न अस्वीकार

casino_palace_anna_hotel_annapurna

काठमाडौंः सर्वोच्च अदालतको केही दिनअघिको आदेशपछि न्याय पाउने आशामा रहेका दरबारमार्गस्थित क्यासिनो अन्नाका मजदुरहरुले अझै सास्ती भोग्नुपर्ने भएको छ । उक्त होटल र सो होटलमा खुलेको नयाँ क्यासिनोको लगानीकर्ता मिलेर यसअघिको आदेश कार्यान्वयन नगर्न माग गर्दै रिट दायर गरेका छन् ।

यसअघि सर्वोच्चका न्यायाधीस बमबहादुर श्रेष्ठको इजलाशले क्यासिनो अन्नाका मजदुरहरुलाई नयाँ क्यासिनोमा सेवा निरन्तरता गर्न र उनीहरुले पाउनुपर्ने तलव सुविधा उपलब्ध गराउन अन्तरिम आदेश दिएको थियो ।

united_cement

उक्त आदेशविरुद्ध अन्नपूर्ण होटलमा क्यासिनो प्यालेसको नाममा नयाँ क्यासिनो सञ्चालन गरेको एटलान्टिक समूहले सर्वोच्चमा रिट दायर गर्दै मजदुरहरुको दायित्व लिन अस्वीकार गरेको हो । मुद्दा हाल्नेमा उक्त समूहका विनय तेली साह अघि भए पनि मुख्य भूमिका अन्नपूर्ण होटलकी सञ्चालक सिर्जना राणाको हात रहेको देखिन्छ ।

राणा पहिलदेखि नै क्यासिनो अन्नाका ९२२ जना मजदुरहरुको दायित्व बहन गर्नबाट पन्छिने प्रयास गर्दै आएकी थिइन । सोही प्रयासका क्रममा उनले अन्नाका मजदुरहरुको तलव सुविधा बाँकी नै रहेको अवस्थामा उक्त क्यासिनोको भवन भत्काएर नयाँ नामको क्यासिनो खोल्न विभिन्न शक्ति केन्द्र घाउँदै आएकी थिइन ।

अन्तरिम आदेशविरुद्ध एटलान्टिक समूहले रिट दायर गरेसँगै तत्काल अन्नपूर्ण होटलले यसअघि क्यासिनो अन्नामा काम गर्दै आएका मजदुरहरुलाई पुर्नबहाली नगर्ने बरु दुःख दिने उपाय रोजेको देखिन्छ । यता मजदुरहरुले पनि आफूहरुको सेवाको सुरक्षाको ज्ञारेन्टी संविधान, ऐन कानुनदेखि अदालतसम्मले गरिसकेको भन्दै आफूहरुले संघर्ष नछोडने बताएका छन् ।

सञ्चय कोष, उपदान, तलव भक्ता गरी ३३ करोड रुपियाँभन्दा बढि रकम नपाएका क्यासिनो अन्नाका मजदुरहरुको दायित्व होटल अन्नपूर्णमा रहने यसअघि व्यवस्थाको सम्झौतामा रहेको छ । यसअघि होटल अन्नपूर्ण सञ्चालन हुँदै आएको अन्नपूर्ण इन्टरनेशनल नामक कम्पनीको अस्तित्व मेटाएर होटल नयाँ कम्पनीमार्फत सञ्चालन गरेकी छन् । नयाँ भनिएको क्यासिनोको पर्दा पछाडि क्यासिनो अन्नाका पूराना मालिकहरुसमेत संलग्न रहेको मजदुरहरुको भनाई छ ।

तर क्यासिनो मजदुरहरुको नियुक्तिपत्र होटल अन्नपूर्ण कै लेटरप्याडमा छ भने आफूहरुको सेवा अन्त्य भएको भनेर न सरकारले न होटलले आफूहरुलाई कुनै जानकारी नदिएको मजदुरहरु बताउँछन् । श्रम ऐनअनुसार पनि कम्पनी खारेज वा बन्द गर्दा कर्मचारीहरुको दायित्व क्लियर गर्नुपर्ने हुन्छ । सँगसँगै अन्नपूर्ण होटलले क्यासिनो अन्नासँग गरेको २५ बर्षको करार सम्झौता अझै कायम रहेकाले पनि होटल दायित्वबाट भाग्न नपाउने मजदुरहरुको भनाई छ ।

होटलले पूरानो कम्पनीको अस्तित्व मेटाउनुको अर्को रहस्यमा तत्कालिन अधिराजकुमार धिरेन्द्रको नाममा रहेको होटल अन्नपूर्ण नेपाल ट्रष्टको नाममा नजाओस भन्ने पनि उद्देश्य देखिन्छ । होटल सम्पूर्णरुपमा ट्रष्टमा जानुपर्नेमा उक्त ट्रष्टमा सचिव रहँदा पूर्वमुख्यसचिव लीलामणि पौडेलले १० प्रतिशत मात्रै ट्रष्टको नाममा राखेर बाँकी सिर्जना र उनको पतिको नाममा गरिदिएका थिए ।

यता सर्वोच्चको आदेशपछि पुर्नबहाली हुन प्रतिक्षामा रहेका क्यासिनो अन्नाका मजदुरहरुसँग वार्ता गर्ने र समस्या समाधान गर्ने भन्दा बर्षौसम्म प्रक्रिया लम्ब्याएर दुःख दिने रणनीति अपनाएको छ । अदालती प्रक्रिया बर्षौ लम्ब्याइदिँदा मजदुरहरु तितरबितर हुने र संघर्ष बन्द पनि बन्द गर्ने, पूरानो दायित्व पनि दिनुनपर्ने होटलको विश्वास छ ।

मजदुरहरु भने आफूलाई काममा फर्काउनुपर्ने मागसहित होटल अन्नपूर्णमा धर्ना र जुलुस गर्दै आएका छन् । निर्वाधरुपमा सञ्चालन हुँदै आएको क्यासिनो अन्नासहित अन्य क्यासिनोहरु तत्कालिन बिद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि उक्त पार्टीसम्वद्ध मजदुर युनियनका कारण लथालिंग हुन सुरु भएको थियो ।

उक्त मजदुर संगठनलाई प्रयोग गर्दै एक भारतीय व्यापारी राकेश वाधवाले नेपालका क्यासिनोहरुका खास मालिक अमेरिकी नागरिक आरडी टटललाई लखेटेर आफू मालिक बन्न सफल भएका थिए । उनी मालिक भएसँग सरकारलाई कर नतिर्ने, क्यासिनोहरुमा हरेक दिन कुटपिट, लुटपाट जस्ता घट्ना बढन थाल्नुका साथै मजदुरहरुले समयमा तलव नपाउने समस्याहरु सिर्जना हुन थालेका थिए ।

बाधवा बढ्दो आर्थिक दायित्व बहन नगरी भागेपछि क्यासिनोहरुमा नयाँ नयाँ मालिकहरु जन्मिन थालेका थिए । क्यासिनोका मालिक आरडी टटल आफ्नो स्वामित्व फिर्ता गराउन अझै पनि कानुनी लडाई लडिरहेका छन् । उनी आफ्नो स्वामित्व फिर्ता भए बक्यौता चुक्ता गरेर केही क्यासिनोहरु सञ्चालन गर्न तयार रहेको केही समयअघि कर्पोरेट नेपाललाई जानकारी दिएका थिए ।

क्यासिनो अन्नाको कर्मचारी र राजश्वको दायित्व होटल अन्नपूर्णमाथि हुँदाहुँदै मजदुर सँगठनका नेताहरुलाई विश्वासमा लिएर पूर्व पर्यटनमन्त्री जितेन्द्र देवले सिर्जना राणालाई नयाँ क्यासिनो खोल्न अनुमति दिएका थिए । यसरी दिँदा ठूलो आर्थिक चलखेल भएको मजदुरहरुको ठहर छ ।

क्यासिनो अन्नामा २२ बर्षसम्म काम गरेका मजदुरहरु श्रम ऐनअनुसार पाउनेपर्ने सुविधा नपाई एकाएक क्यासिनो बन्द गरिदिँदा पीडित भएका छन् । धेरैको समस्या नाजुक छ भने केहीले आत्महत्या नै गरिसकेको सहकर्मीहरु बताउँछन् ।