श्रम सम्झौता नगरी कामदार पठाउँदा वैदेशिक रोजगारी बढी असुरक्षित

Advertisement

काठमाडौंः नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले श्रम सम्झौता नगरी धेरै मुलुकमा कामदारहरु पठाउँदा वैदेशिक रोजगारी बढी असुरक्षित भएको भन्दै सम्झौता गर्न बाँकी रहेका मुलुकसँग सम्झौता चाँडै गर्नुपर्ने बताएका छन् ।

गैरआवासीय नेपाली संघले आयोजना गरेको कार्यक्रममा उनले वैदेशिक रोजगारको क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउनका लागि आफूहरुले पनि सरोकारवाला संघ संस्थाहरुसँग छलफल गरिरहेको भन्दै अधिकाँश मुलुकहरुसँग श्रम सम्झौता नहुँदा समस्या भएको सुनाए ।

गुरुङले वैदेशिक रोजगारमा जानेहरु गन्तव्य मुलुक पुगेपछि विभिन्न प्रकारका समस्या भोग्न बाध्य भएकाले नेपाल सरकारले विशेषगरी मध्यपूर्वका श्रम सम्झौता नभएका मुलुकहरुसँग सम्झौता गरेर श्रमिकहरु पठाउँदा बढी सुरक्षित हुने बताए ।

उनले श्रमिहरु बाहिर जानु अघि उनीहरुले आफ्नो कार्यविवरण थाहा पाउनु जरुरी रहेको बताए । गुरुङले संघको पहलमा व्यवसायीहरुले रोजगारीमा जानेहरुको परिवारको विवरण संकलन गर्न थालेको पनि बताए ।

प्रवासी नेपाली समन्वय समितिका महासचिव सोमप्रसाद लामिछानेले वैदेशिक रोजगारका करिव ८०० भन्दा बढी घटनाहरु आफ्नो संस्थाको जानकारीमा आएको र यसका समाधानका लागि पहल गरिरहेको बताए । उनले वैदेशिक रोजगारबाट समस्याहरु भएर फर्केका पुरुष कामदारहरुको लागि एउटा सेल्टरको स्थापना गर्नुका साथै वैदेशिक रोजगारका दौरान विदेशमा गएर वेपत्ता भएका नेपाली कामदारका छोराछोरीलाई शिक्षा आर्जन गर्नमा सहयोग गरिरहेको बताए ।

लामिछानेले वैदेशिक रोजागारका लागि अमर्यादित तथा अव्यवस्थित तरिकाले कामदार भर्ती भईरहेको र यसलाई व्यवस्थित गर्नको लागि सरोकारवाला संस्थाहरु एक जुट हुनुपर्ने बताए । यसरी नै विदेशमा रहेका नेपाली दूतावासहरुको कार्यक्षमतामा बृद्धि गर्नुपर्ने र वैदेशिक रोजगारमा गएकाहरुको तथ्यांक अद्यावधिक गराउनुपर्ने उनले बताए ।

गैरआवासीय नेपाली संघअन्तर्गतको वैदेशिक रोजगार राहत कोष उपसमितिका संयोजक सोमनाथ सापकोटाले वैदेशिक रोजगारको क्षेत्रमा संघले गरेका गतिविधिहरु बारे जानकारी गराउँदै यस क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउनको लागि सरकार र सरोकारवालाहरुसँग सहकार्य र समन्वय गरिने बताए ।

Advertisement

Advertisement

Advertisement