सात बर्षमै काठमाडौंमा चिनियाँ रेल, नेपालमा तेल र ग्यासको अन्वेषणमा चीनले सघाउने

Advertisement

बेइजिङः परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सफल बनाउन चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रतिवद्धता जनाएको बताएका छन् । बुधबार भएको ओलीसँग भएको भेटमा सीले नेपालको संवृद्धिमा चीन सदैव सहयोगी रहने वचन दिएको ज्ञवालीले बताए ।

नेपालको स्वतन्त्र छनोटको अधिकारलाई चीनले सदैव समर्थन गर्ने प्रतिवद्धता राष्ट्रपति सीले व्यक्त गरेको ज्ञवालीले बताए । बेल्ट एण्ड रोड इनिसियटिभ र ट्रान्सहिमालयन कनेक्टिभिटीको परिधिभित्र रहेर नेपालले पूर्वाधार विकास गर्न चाहेको र त्यसमा चीन सहयोग गर्न तत्पर रहेको चिनिया राष्ट्रपतिलाई उद्धृत गर्दै उनले बताए ।

अबको सात वर्षमा रेल
अन्तरदेशीय रेलमार्गलाई नेपालले विशेष प्राथमिकतामा राखको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले अबको सात वर्षमा नेपाल र चीन रेलमार्गले जोडिने बताए । राष्ट्रपति सीसँगको भेटवार्तापछि मन्त्री ज्ञवालीले भने, “छिट्टै रेलमार्ग नेपाल पुग्दैछ । त्यसको अध्ययनका लागि दुवैतर्फ निर्देशन हुन्छ ।”

ज्ञवालीले पूर्व सम्भाव्यता अध्ययन नेपाली प्रविधिज्ञसहितको टोलीले अगष्टसम्म सकिने र डिपिआर शुरु हुने विश्वास व्यक्त गर्दै नेपालको अर्थतन्त्रका लागि बहुआयामिक महत्वको रेलमार्ग विस्तारमा नेपालले पनि लगानी गर्ने बताए ।

उनले भने, “चीनको रेल काठमाडौँ पुग्नेछ, यसले नेपालको विकासमा ठूलो सहयोग पुग्नेछ । राष्ट्रपति सीले नेपालको चाहनालाई ‘इन्डोर्स’ गर्नुभएको छ ।” उत्तर दक्षिण करिडोर निर्माण, थप उडानको प्रवद्र्धन र तिब्बेतियन हाइवेको नाका प्रयोग गरी विभिन्न नाकामा पुग्ने विषयका प्रोटोकलमा हस्ताक्षर हुने जानकारी दिँदै चिनिया राष्ट्रपतिले पारवहनको सुविधाले नेपालको व्यापार विविधीकरणमा सहयोग पुग्ने बताएको ज्ञवालीले जानकारी दिए ।

चिनिया पक्षबाट तातोपानी नाका छिट्टै खोल्ने आश्वासन प्राप्त भएको र नेपालको पूर्वाधार विकासको चाहनालाई पूर्णरूपमा साथ दिने वचनबद्धता पनि आएको ज्ञवालीले बताए । त्यस अतिरिक्त नेपालका उच्च हिमाली जडीबुटीको बजार प्रवद्र्धन गर्न सघाउन चीन तयार रहेको उल्लेख गर्दै उनले आगामी नोभेम्बरमा हुने संघाई एक्स्पोमा नेपाली व्यापारी सहभागी हुने जानकारी दिए ।

अन्तरदेशीय व्यापार क्षेत्र बनाउने, स्वतन्त्र व्यापार सम्झौतालाई टुङ्ग्याउने, ऊर्जा क्षेत्रमा सहयोग गर्ने र नेपालमा तेल र ग्यासको अन्वेषण तथा भण्डारणमा सघाउने चिनियाँँ पक्षको प्रतिबद्धता रहेको पनि ज्ञवालीले जानकारी दिए ।

मन्त्री ज्ञवालीका अनुसार नेपालमा शैक्षिक जनशक्ति उत्पादनका लागि मदन भण्डारी मेमोरियल इन्स्टिच्युट सघाउने प्रतिवद्धता पनि चिनिया पक्षबाट व्यक्त भएको छ । “नेपालले अन्य देशसँग घनिष्ट सम्बन्ध राख्दा चीनलाई कुनै पनि समस्या हुँदैन र नेपालको चीनसँगको घनिष्ट सम्बन्धबाट कोही चिन्तित हुनुपर्दैन । नेपालको त्यो स्वतन्त्र छनोटको कुरा हो । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ ।” राष्ट्रपति सीलाई उद्धृत गर्दै उनले बताए ।

म अवश्य नेपाल आउनेछु: सी
भेटवार्ताका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गर्न दिएको निम्तोको प्रत्युत्तरमा चिनिया राष्ट्रपति सीले ‘म अवश्य नेपाल आउँछु’ भनेको ज्ञवालीले दिए । प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिँदै नेपाली जनता राष्ट्रपति सीलाई स्वागत गर्न चाहन्छन् भने ।

आपसी कूटनीतिक माध्यमबाट दुवै पक्षलाई अनुकूल हुने मिति तय गरेर चिनिया नेताको नेपालको भ्रमणको तयारी अगाडि बढाउने मन्त्री ज्ञवालीले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement