रुपा गाउँपालिकाको बजेट ३२ करोड ७७ लाख

kaski_district

पोखरा: रुपा गाउँपालिकाले आव २०७५/७६ का लागि ३२ करोड ७७ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाद्वारा आज आयोजित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडक, खानेपानी, कृषि, पर्यटनलगायत विषयलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

आव २०७५÷७६ लाई गाउँपालिकाको आर्थिक समृद्धिको आधारको वर्षका रुपमा लिइने बताउँदै उनले यस वर्ष उत्पादनमूलक र लगानीमैत्री वातावरण सिर्जना गर्ने गरी बजेट तयार गरिएको बताए ।

जनताको आयस्रोत वृद्धि, खाद्य सुरक्षा, स्वच्छ खानेपानी, स्वास्थ्य, शिक्षा पूर्वाधार विकासलाई मुख्य आधारका रुपमा लिँदै सञ्चित कोषबाट आवश्यक बजेट विनियोजन गरिएको उनले उल्लेख गरे ।

गाउँपालिकाले युवा तथा बेरोजगार लक्षित गरी पेशा र व्यवसाय गर्न चाहनेका लागि गाउँपालिका संरक्षक रहने गरी सहकारीको ढाँचामा न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्थाका लागि ५० लाख रुपियाँ विनियोजन गरेको छ ।

बाँझो जग्गाको सदुपयोग गर्न भूमि बैंकको अवधारणालाई अवलम्बन गर्ने नीति गाउँपालिकाले लिएको छ । जग्गा बाँझो राख्ने कार्यलाई निरुत्साहित गर्न आवश्यक करको दरमा संशोधन गरी दोब्बर बनाइएको छ भने बाँझो जग्गा गाउँपालिकालाई निश्चित अवधिका लागि निश्चित दरमा भूमि बैंकमा राख्न सकिने व्यवस्था मिलाइएको छ । सो कार्यका लागि २५ लाख रुपियाँ विनियोजन गरिएको अध्यक्ष ओझाले जानकारी दिए ।

पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको गाउँपालिकाले चिसापानी, मरज्याङकोट, खडागाउँ, कुमाल गाउँ, तालबेसी, भंगराजमलकुनालगायत गाउँलाई होमस्टे गाउँका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

गाउँपालिकाभित्र उद्योग ग्राम स्थापना गर्न प्रदेश र केन्द्रसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘एक घर, एक धारा’ निर्माण गर्न यस वर्षलाई खानेपानीको वर्षको रुपमा मनाउने योजना राखेको गाउँपालिकाले खानेपानीका लागि एक करोड ४२ लाख रुपियाँ विनियोजन गरेको छ ।

सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको गाउँपालिकाले रणनीतिक महत्वमा शिशुवा, पोल्याङटार, रुपाकोट, थुम्की र बेगनास भोर्लेटार रुपा रिङरोडलगायत सडकको स्तरोन्नति एवं कालेपत्रे गर्ने जनाएको छ । सडक पूर्वाधारका लागि एक करोड ३० लाख रुपियाँ विनियोजन गरेको छ ।

गाउँपालिकाले पशु विकासका लागि एक करोड ३० लाख रुपियाँ, सहकारीका लागि ५५ लाख रुपियाँ, सामाजिक समावेशीकरण र सुरक्षाका लागि १२ लाख रुपियाँ, लैङ्गिक तथा बालबालिका समावेशीकरणका लागि नौ लाख रुपियाँ, संस्कृति प्रवद्र्धनका लागि १३ लाख रुपियाँ, स्वास्थ्यका लागि ३० लाख रुपियाँ, युवा तथा खेलकूदका लागि १५ लाख रुपियाँ छुट्याएको छ ।

त्यस्तै गाउँपालिकाले शिक्षातर्फ ३० लाख रुपियाँ, विज्ञान प्रविधिका लागि १५ लाख रुपियाँ, सिँचाइतर्फ २२ लाख रुपियाँ र भवनतर्फ २० लाख रुपियाँ विनियोजन गरेको छ ।