एसइई नतिजामा त्रुटि नै त्रुटि, विद्यार्थी र अभिभावक अन्योलमा

Advertisement

काठमाडौंः माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइईं)को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले शनिबार प्रकाशित गरेको नजितामा आइतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ । पनिकाले तोकेका वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिबार प्राप्त गरेको जिपिए आइतबार बढेको हो । जिपिए बढेपछि विद्यार्थी, अभिभावक र शिक्षक अन्योलमा परेका छन् । कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्लस हुनुपर्नेमा पनिकाको सिस्टमले ए ग्रेड मात्रै देखायो । विषयगत रूपमा ए प्लस आउनुपर्नेमा ए मात्र आउनाले समग्र जिपिए घटेको थियो ।

Advertisement

मोक्षदा स्कुलकी ०३११०३२टी सिम्बोल नम्बरकी सुनिता रोकाको शनिबार एसएमएस गर्दा जिपिए ३.८५ आएको थियो । उनले आइतबार उही सिम्बोल नम्बरमा एसएमएस गर्दा जिपिए ३.९० आएको छ । ‘हिजो र आजको जिपिए फरक आयो, कुनलाई आधिकारिक मान्ने अन्योल भयो,’ रोकाले भनिन् ।
अधिकांशको जिपिए बढ्यो आइतबार प्रायः विद्यार्थीको जिपिए बढेको छ । सुकेधारास्थित बागमती बोर्डिङ माध्यमिक विद्यालयका प्रिन्सिपल श्यामदत्त अधिकारीले आफ्नो विद्यालयका लगभग सबै विद्यार्थीको जिपिए बढेको बताए । ‘केही साँच्चै राम्रा विद्यार्थीको अप्रत्याशित नतिजाले हामी आश्चर्यमा परेका थियौँ । शनिबार जिपिए ३.८ आउनेको आइतबार ३.९ आएको छ,’ उनले भने । जिम्मेवार निकायबाट धेरै लापरबाही हुँदा विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर परेको उनले बताए । ‘पनिकाजस्तो जिम्मेवार निकायको विश्वसनीयतामा प्रश्न उठ्यो । पूर्ण तयारी नगरी हतारहतारमा नतिजा प्रकाशन गर्नुभन्दा केही ढिला गरेको भए बेस हुन्थ्यो,’उनले भने ।
प्राविधिक त्रुटि भयोः परीक्षा नियन्त्रक रेग्मी परीक्षानियन्त्रक अम्बिकाप्रसाद रेग्मीले ‘डाटा अपलोड’ गर्ने वेलामा केही त्रुटि भएका कारण समस्या आएको बताए । पनिकाको आफ्नै वेबसाइटमा समेत गलत नतिजा सार्वजनिक भएको थियो । नियन्त्रक रेग्मीले आइतबार बिहान गुनासो आएपछि अपलोड गर्दा भएको त्रुटिलाई इन्जिनियरले सच्याएको बताए । पछिल्लो नतिजा आधिकारिक भएको उनले बताए । यस वर्ष पनिकामा इन्जिनियर नयाँ भएका कारण पनि धेरै समस्या आएको स्रोतको भनाइ छ ।साधारण र प्राविधिकको नतिजा एकैपटक २०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा २५ विद्यार्थीले सबैभन्दा माथिल्लो जिपिए ४.० ल्याएका छन् । आठवटै विषयमा ९० भन्दा माथि र १०० सम्म ल्याउने विद्यार्थीले मात्र जिपिए ४ पाउँछन् । यस वर्ष साधारणधारतर्फ नियमित चार लाख ५१ हजार पाँच सय ३२ र एक्जाम्टेडतर्फ २५ हजार एक सय ३२ परीक्षामा सहभागी थिए । त्यसैगरी प्राविधिक धारतर्फ नियमितमा आठ हजार नौ सय ६ र एक्जाम्टेडतर्फ १० जना सहभागी थिए । नियमिततर्फ सबैभन्दा माथिल्लो जिपिए ३.६५ देखि ४ ल्याउने १४ हजार दुई सय ३४ जना छन् । जसमध्ये आठ हजार ७३ छात्र र ६ हजार एक सय ६१ छात्रा छन् । अघिल्लो वर्ष नियमिततर्फ चार लाख ४५ हजार पाँच सय ६४ सहभागी भएकामा जिपिए ३.६५ देखि ४ सम्म ल्याउने १२ हजार दुई सय ८४ थिए । त्यसैगरी प्राविधिक धारमा ५ सय ३८ ले जिपिए ३.६५ देखि ४ सम्म तीन सय ४५ छात्र र एक सय ९३ छात्राले ल्याएका थिए । साधारण र प्राविधिकतर्फका एक्जाम्टेड विद्यार्थीले कुनै पनि जिपिए ३.६५ ल्याएका छैनन् ।

आजको नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement