देश विकासको लागि ‘आध्यात्मिक मोडल’ रोज्ने कि ?

Advertisement

विश्वका हरेक विकसित देशले विकासका लागि फड्को मार्दा टेकेका निश्चित आधार छन् । विश्वमा आर्थिक महाशक्तिका रुपमा अघि बढिरहेको चीनले पनि आर्थिक विकासका लागि चरणबद्धरुपमा आफनो रणनीति अपनाउँदै आएको छ । कुनै बेला मास प्रडक्सनको नीति अँगालेर संसारभर सस्तो सामान आपूर्ति गर्ने रणनीति लिएको चीन यतिबेला गुणस्तरीय सामानको उत्पादनको रणनीतिमा छ । दोस्रो विश्वयुद्धको हारपछि केवल आर्थिक विकासको लक्ष्यमा मात्र अघि बढेको जापानले विद्युतीय सामानसहित सवारीसाधन र प्राविधिक सामानहरुको उत्पादनमा केन्द्रीत रहेर जापानले आर्थिक सम्बृद्धि हासिल गरेको हो । मलेसियामा महाथिर मोहम्मदको नेतृत्वमा आन्तरिक पूँजीका आधारमा आफना प्राथमिकतालाई मुख्य आधार मानेर विकासको आधारस्तम्भ कोरिएको पाइन्छ । आफना सर्त पालना गरे मात्र ऋण दिने अन्यथा नदिने विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायतको सर्त अस्वीकार गरि मलेसियाले आफनै पूँजीको जगमा विकासका पाइला कोरेको पाईन्छ ।

Advertisement

कुनै भौगोलिक र प्राकृतिक वरदान नपाएको दुर्भाग्यशाली देश सिंगापुरमा लि क्यान युको नेतृत्वमा माटो सुहाउँदो विकासको मोडलले सिंगापुर आज अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको वार्ता हुने विश्वासिलो स्थलका रुपमा परिणत हुन सफल भएको छ । हो, उसो भए नेपाल विकासका आधार के हुन ? हामी यसबारे घोत्लिएका छौ ? वा विश्वका कुनै प्रख्यात विश्वविद्यालयबाट अर्थशास्त्रमा दीक्षित अर्थशास्त्रीले कोरेको कुनै पदचाप छ ? नेपालको माटो सुहाउँदो, यथार्थमा टेकेको, व्यवहारिक धरातलको विकासका आधार के के हुन ? चीनको मास प्रडक्सनको सामु हामी सामान उत्पादन गरेर निर्यात गर्न सक्छौ ? भारतको वर्षाै देखिको औद्योगिक अनुभव त चीनका सामु प्रतिस्पर्धा गर्न उसलाई कठिन परिरहेको छ ।
देशको इतिहासमा जनताको मतबाट बलियो सरकार बनेको यो समय हो । यसबेलाको सरकारले चाहेमा देशको लाथलिङ्ग अवस्थालाई यु–टर्न दिएर विकासको मार्गमा डोर्याउन सक्छ । तर, यसबारे व्यवहारिक चिन्तन भएका छन् ? अँग्रेजीमा एउटा भनाई छ– डु द डुएबल फष्ट, अर्थात गर्न सक्ने पहिला गर । हो, गर्न सकिने स–साना तर देशका लागि अति नै महत्वपूर्ण पक्षहरुका बारेमा पनि चिन्तन गर्ने की ? आउनुस धेरै ठूला र महत्वाकांक्षी भन्दा व्यवहारिक र तत्काल गर्न सकिने अनि विश्वभर तुरुन्त सकारात्मक सन्देश दिने साथै देशको आर्थिक ढुकुटीमा डलर आउने यस्तै केही विषयबारे चर्चा गरौं ।
अर्गानिक देश घोषणा साढे दुई वर्ष अघि म सिक्किम पुगेको थिएँ । त्यसबेला सिकिम्मका मुख्यमन्त्री पवन चाम्लिङ्गसँग पनि प्रत्यक्ष रुपमा कुराकानी गर्ने अवसर प्राप्त भएको थियो । त्यसबेला उहाँसँग उहाँको नेतृत्वमा सिक्किमलाई अर्गानिक स्टेट बनाएको बारे मैले जिज्ञाशा समेत राखेको थिए । उहाँले त्यसबाट फाइदा हुने पक्षहरु र भइरहेको प्रगतिबारे आफनो धारणा राख्नुभएको थियो । त्यस छलफलपछि आफनो देश नेपाललाई नै विषादीमुक्त क्षेत्र घोषणा गरि विश्वमा अर्गानिक देशका रुपमा परिचित बनाउन पाए कति राम्रो हुने थियो होला ? भन्ने मनमा विचार आएको थियो ।पक्कै पनि सानो भौगोलिक क्षेत्रफलभित्र पनि प्राप्त विविधताका बीच नेपाललाई अर्गानिक देश बनाउन सके, विषादीबाट वाक्क भएका विश्वका जनतालाई नेपाल आउँ आउँ बनाउन सकिन्छ । विषादीरहीत खानेकुरा र नेपालको मिठो पानी अति ताजा हावामा बसेर विश्वको कोलाहलपूर्ण जीवनबाट थाकेकाहरु फ्रेस हुन सक्छन् । त्यसबाट नेपालले अर्गानिक सामानको उचित मुल्य उनीहरुबाट प्राप्त गर्न पनि सक्छ । तर, नेपाल साच्चैको विषादीमुक्त भई अर्गानिक भएको र उत्पादित सामान अर्गानिक नै भएको भने निश्चित हुन आवश्यक छ । विषादी प्रयोग गरेर गरिने कृषि उत्पादनले दिने आम्दानी भन्दा मध्य र दीर्घकालमा अर्गानिक उत्पादनको आम्दानी निश्चित बढि हुन्छ । अझ विषादीको प्रयोगबाट उत्पादित सामानको प्रयोगबाट उत्पन्न भएको विभिन्न साईड इफेक्टबाट त्रसित मानिसहरु माझ अर्गानिक नेपाली उत्पादन पुर्याउन सके देशले भोगिरहेको बढ्दो व्यापार घाटा तुरुन्त कम गर्न सकिन्छ ।प्लाष्टिक प्रतिबन्ध बजारमा सहज उपलब्ध सस्ता प्लाष्टिकको अनियन्त्रित प्रयोगले नेपालमा चरम प्रदुषण बढाएको छ । यत्रतत्र उड्ने प्लाष्टिकले देशको माटोको उत्पादकत्व मात्र घटाएको छैन यसले चौतर्फी प्रदुषण निम्त्याएको छ । शहरका सडक र गल्लि गल्लिमा जताततै प्लाष्टिक नै प्लाष्टिक देखिन्छ । अझ आज भोलि गाउँगाउँसम्म यसको फैलावटले सर्वसाधारणको जीवनलाई अति नै प्रभावित पार्न थालेको छ । गाउँघरमा पालिने गाईवस्तुले प्लाष्टिक खाईदिँदा तीनको मृत्युसम्म हुन पुग्दा गरिव किसानलाई थेग्नै नसक्ने आर्थिक बोझसमेत थपिने गरेको छ । त्यसैगरी, माटोमा मिस्सिएको प्लाष्टिककले माटोको उर्वराशक्ति क्षिण गरिदिएको छ । यस्तो अवस्थामा तत्काल प्लाष्टिकमाथि प्रतिबन्ध लगाउन आवश्यक छ ।प्लाष्टिक झोलाको सट्टा जुट, कपडा, ऊनी आदीले बनेका झोलाको प्रयोगमा सर्वसाधारणलाई अघि बढाउनुपर्छ । बढिमा १५ वर्षअघिसम्म नेपालीले प्लाष्टिकको झोला प्रयोग नै गर्दैनथे । गरे पनि अति कम मात्रामा मात्र । तर, पछिल्लो पाँच वर्षयता प्लाष्टिकको प्रयोग यसरी बढ्यो कि, यो विना जीवन नै चल्दैन कि ? भन्नेसम्मको सोच आममानिसमा पलाउन थालिसकेको छ । यस्तो सन्दर्भमा विश्वका अरु देशलाई पनि टाउको दुखाइको विषय भएको र कतिपय देशले यसको प्रयोगमा रोक लगाएको सन्दर्भमा हिमाल नै हिमालले भरिएको देश नेपालले प्लाष्टिकको प्रयोगमा रोक लगाउन एक दिन पनि ढिला गर्नु हुँदैन ।आउँदो पुस्ताको जीवन रक्षाका लागि पनि देशलाई प्लाष्टिकमुक्त देशका रुपमा विश्वमा उभ्याउन ठूलो छाती र दह्रो खुट्टा टेकेर यसबारे निर्णय लिन आवश्यक छ । केही सीमित व्यक्तिलाई रोजगारी दिएको नाऊमा सबैलाई र अनन्त कालसम्म प्रकृतिमाथि अत्याधिक नकारात्मक असर पार्ने प्लाष्टिकको प्रयोगबारे गम्भीर चिन्तन गरिहाल्नुपर्ने र निर्णय लिइहाल्नु पर्ने समय आइसकेको छ ।आध्यात्मिक शान्ति केन्द्र विश्व र मानिस दुवैलाई केवल भौतिक विकासले मात्र शान्ति र सन्तोष प्रदान गर्न सक्दैन । भौतिक विकास र आध्यात्मिक अभ्यास दुवै एउटै रथका दुई पाङ्ग्रा हुन । एउटा मात्र पाङ्ग्रालाई मात्र बढि प्राथमिकता र अर्काेलाई उपेक्षा गर्दा सन्तुलित समाज र देश निर्माण गर्न सकिँदैन । तसर्थ, नेपालले संसारलाई नै देखाउने गरेर ठूलाठूला भौतिक संरचनाको प्रादुर्भाव र निर्माण गर्नसक्ने अवश्य होइन । यस्तो सन्दर्भमा सकभर प्राकृतिक उपायबाट मिल्दा संरचनाको निर्माण गरि आध्यात्मिक पक्षलाई प्रवद्र्धनमा नेपालले जोड दिन आवश्यक छ । नेपाललाई विश्वको शान्ति क्षेत्रका रुपमा अघि बढाउनुपर्छ । वैदिक संस्कृतिको उच्चतम् प्रयोगबाट भौतिक विश्वबाट वाक्क भएकाहरुलाई शान्तिको ऊर्जा दिने स्रोतका रुपमा नेपाललाई अघि बढाउन सक्नुपर्छ । बुद्धको जन्मस्थल लुम्बिनी, विश्वको अग्लो शिखर सगरमाथा, भगवान पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ, दामोदरकुण्ड, खप्तड लगायतका क्षेत्रलाई वृहत्तर गुरुयोजनामार्फत धार्मिक आध्यात्मिक मर्मअनुसार विकास गरि त्यसको उचित प्रयोग गर्नुपर्दछ । यी स्थानहरुमा व्यक्तिले शान्तिपूर्वक महिनौ बिताउन पाउने प्रावधान मिलाउनुपर्छ ।योग केन्द्रहरु हो, नेपालका सबै डाँडाहरु, जंगलहरु योग ध्यान केन्द्र हुन । खाली आवश्यक छ यसबारेको सोच र प्रवद्र्धन । विभिन्न रोगका कारण जीवनमा दुःख पाइरहेकाहरु मात्र होइन, स्वस्थ व्यक्तिलाई पनि नेपाल आएर दीर्घायुका लागि योग गर्न अभिप्रेरित गर्नुपर्दछ । विश्वभरबाट एक्लो मात्र होइन परिवारसहित नै योग गर्न आउने व्यवस्था मिलाउन सकिन्छ । यसरी योगका लागि आउनेहरुका लागि नेपालमा नै उत्पादित सात्विक भोजनमार्फत किसानसम्म उनीहरुको उत्पादनको मूल्य पुर्याउन सकिन्छ ।पर्यापर्यटन नेपालको अहिलेको पर्यटन कामचलाउ प्रकारको छ । देशको प्रकृतिअनुसार पर्यटन क्षेत्रको विकास आवश्यक छ । थाईल्याण्ड, सिंगापुर, हंङकङ घुम्न जाने सोच राख्ने पर्यटक नेपाल आउने कोटिमा पर्दैनन । नेपाल आउने पर्यटक नितान्त प्राकृतिक घुमाइको अपेक्षासहित आएका हुन्छन् । त्यसकारण, उनीहरुलाई सुहाउँदो र दीगो विकासका लागि पर्यापर्यटनको सोच नेपालले लिन आवश्यक छ । विश्वभरका पर्यटक नेपालमा प्राकृतिक प्रकृतिको घुमाईका लागि आउने वातावरण बनाउन आवश्यक छ ।

(पन्त दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुनुहुन्छ । सम्पर्क नम्बर ९८४१५२७५१०)

Advertisement

Advertisement