खरिद ऐनविपरित ब्रुमर खरिदको ठेक्का, झण्डै २ करोड अनियमितता, छानविन र कारवाही गर्न माग

Advertisement

काठमाडौंः काठमाडौं महानगरपालिकाले सार्वजनिक खरिद ऐनविपरित झण्डै दुई करोड रुपियाँ रकम बढि प्रस्ताव गर्नेलाई न्यून गुणस्तरको रोड स्विपर (ब्रुमर) खरिद गर्न ठेक्का दिएको छ । महानगरभित्रै कर्मचारीहरुको विरोध हुँदाहुँदै आर्थिक प्रलोभनमा नियोजित ढंगले ठेक्का दिइएको हो ।

खरिद ऐनअनुसार न्यून रकम बोलकबोल गर्ने प्रस्तावकलाई ठेक्का नदिएर महंगो रकम प्रस्ताव गर्नेलाई ठेक्का अवार्ड गरिएपछि न्यून रकम प्रस्ताव गर्ने पहिलो र दोस्रो कम्पनीहरुले काठमाडौं महानगरपालिकादेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक खरिद अनुगमन कार्यालयमा मंगलबार टेण्डर प्रक्रियाको छानविन र आवश्यक कारवाहीको माग गर्दै उजुरी दर्ता गरेका छन् ।

उनीहरुले स्पेशिफिकेशन तयार गर्ने क्रममा नै कुनै अमुक कम्पनीलाई लक्षित गरी गलत स्पेशिसिकेशन तयार गर्ने, उसैलाई जसरी पनि टेण्डर अवार्ड गर्न तीन पटक पटकसम्म टेण्डर गर्ने काम भएको बताएका छन् ।

महानगरपालिकाले गएको साता डेलेभो ब्राण्डको इटालियन ब्रुमर आयात गर्न प्रस्ताव गर्ने तेस्रो नम्बरको बोलपत्रदाता वल्ड वाइड ट्रेडिङ प्रालिलाई ठेक्का दिने निर्णय गरेको थियो । यस कम्पनीले कोट गरेको रकम दोस्रो नम्बरको बोलपत्रदाताभन्दा एक करोड एक करोड ६० लाख ७४ हजार रुपियाँ बढि छ भने पहिलो नम्बरमा रहेको बोलपत्रदाताले कोट गरेको रकमभन्दा एक करोड ७० लाख ८४ हजार रुपियाँभन्दा बढि छ ।

डेलोभो ब्राण्डका ब्रुमरहरु ठूलो कलकारखाना, रंगशाला, सुपरमार्केटमा मात्रै प्रयोगका लागि उपयुक्त रहेकोमा नेपालको जस्तो धेरै धुलो हुने सडकका लागि अनुपयुक्त हुँदाहुँदै महानगरपालिकाका पदाधिकारी र केही कर्मचारीहरुले आर्थिक प्रलोभनमा डिजाइनका साथ सोही ब्रुमर ल्याउन गैरकानुनीरुपमा ठेक्का स्वीकृत गर्ने काम गरेको उजुरीकर्ताहरुको गुनासो छ ।

उजुरीकर्ता पहिलो र दोस्रो बोलपत्रदाताका अनुसार नेपालका सडकहरुका लागि ठूलो आकारका भारतीय ब्रुमरहरु उपयुक्त रहेको तथ्य प्रमाणित हुँदाहुँदै आर्थिक प्रलोभनमा नेपालका सडकहरुमा टिक्दै नटिक्ने ब्रुमरहरु खरिद गरेर राज्यलाई नोक्सान पुर्याउने काम भएको छ ।

डेलेभोले काठमाडौं महानगरपालिकासहित मुलुकभरका नगरहरुमा आफ्ना ब्रुमरहरु बिकाउने योजनामा छ । सोहीअनुरुप उसले स्थानीय साझेदारमार्फत नगरपालिकादेखि महानगरपालिकाका पदाधिकारी एवं कर्मचारीहरुलाई किन्दै आफ्नो पक्षमा टेण्डर पार्ने र आफ्नो बजार स्थापित गर्ने रणनीति बनाएको छ ।

स्रोतका अनुसार सोही योजनाअनुसार सडक विभागमार्फत केही समयअघि डेलेभोको ब्रुमर खरिद गरेर ललितपुर महानगरपालिकालाई उपहारको नाममा दिने काम भएको छ ताकि उसले अब गर्ने खरिद पनि आफ्नै युरोपियन ब्राण्डको डेलेभो खरिद गर्न सकोस । यद्यपि विभागले उपहार दिएको उक्त ब्रुमर सडक सफा गर्न त्यति उपयुक्त नभएपछि ललितपुरले थन्क्याएर राखेको छ ।

यसअघि काठमाडौं महानगरपालिकाले डेलेभोको स्पेसिफिकेशनसम्म मेल खानेगरी दुई पटकसम्म गरेको टेण्डर प्रक्रियामा डेलेभोले भनेअनुसारको रकम नमिलेपछि महानगरपालिकाले उक्त टेण्डर रद्द गरी तेस्रो पटक पुनः टेण्डर गरेको थियो । तेस्रो पटकको टेण्डरमा डेलेभोले प्रस्ताव गरेको रकमभन्दा अन्य दुई कम्पनीले प्रस्ताव गरेको रकम सस्तो र प्रभावग्राही भएपछि महानगरपालिका लामो समयसम्म निर्णय गर्न नसकेर अडकिएको थियो ।

यद्यपि भित्रभित्रै डेलेभोलाई नै टेण्डर दिने प्रक्रिला मिलाइएपछि अख्तियारले समेत यससम्वन्धी कागजाजको प्रतिलिपिहरु लिएर गएको थियो ।

Advertisement

Advertisement

Advertisement