डडेलधुराको स्याउले सबस्टेसन संचालनमा, सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत आपूर्ति सहज हुने

Advertisement

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले डडेलधुराको स्याउलेमा निर्माण गरिएको १३२/३३ केभी सबस्टेसन मंगलबारबाट संचालनमा आएको जनाएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत आपूर्तिलाई नियमित बनाउन यसले सहयोग पुग्ने प्राधिकरणको भनाई छ ।

यसलाई मंगलबारबाट चार्ज गरिएको हो । सबस्टेसन निर्माण सम्पन्न भएपछि सुदूरपश्चिमका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत त्यहींमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउन पूर्वाधार पनि तयार भएको छ ।

सबस्टेसन सञ्चालनमा आएपछि दार्चुलास्थित ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत स्याउलेबाटै डडेल्धुरा, दार्जुला, डोटी, वैतडी र अछाममा बितरण हुनेछ । प्राधिकरणले अहिले चमेलियाको विद्युत दार्चुलाको बलाँचबाट १३१ किलोमिटर १३२ केभी प्रसारणलाइनमार्फत कैलालीको अत्तरिया पुर्याई फेरि ३३ केभीमार्फत ती जिल्लामा आपूर्ति गर्दै आएको छ ।

‘अब चमेलियाको विद्युत स्याउले सबस्टेसनबाट सुदूरपश्चिमका पहाडी जिल्लामा आपूर्ति हुने, लामो प्रसारण प्रणालीले गर्दा भइरहेको प्राविधिक चुहावटमा कमी आउने आयोजना प्रमुख रमेश पौडेलको भनाई छ । यसबाट त्यस क्षेत्रको वितरण प्रणाली सुदृढ भई विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुने उनको दावी छ ।

प्राधिकरणले चमेलिया सञ्चालनमा आउनुभन्दा पहिले पनि अत्तरियाबाटै ३३ केभी प्रसारणलाइनमार्फत प्राधिकरणले उक्त क्षेत्रको पहाडी जिल्लामा विद्युत आपूर्ति गर्दै आएको थियो । अत्तरिया–डडेलधुरा–दिपायल ३३ केभी प्रसारण लाइनमार्फत डडेलधुरा र डोटीको दिपायलमा भएका ३३÷११ केभीका सवस्टेसनमार्फत विद्युतलाई ११ केभीमा परिणत गरी वितरण हुँदै आएको थियो ।

प्राधिकरणले डडेलधुराबाट बैतडी हुँदै दार्चुलासम्म र डडेलधुराबाट दिपायल हुँदै अछामसम्म विद्युत आपूर्ति गर्दै आएको छ । अव ती क्षेत्रमा चमेलियाको विद्युत स्याउले सब स्टेसनमार्फत आपूर्ति हुनेछ ।

यो ३३ केभी प्रसारणलाइन धेरै लामो हुँदा प्रसारण चुहावट बढी हुने र ‘भोल्टेज ड्रप’ हुने समस्या थियो । यी सबै समस्याको समाधान गर्न चमेलिया–अत्तरिया १३२ केभी प्रसारण लाइन मूनी पर्ने स्याउलेमा सब स्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

सवस्टेसनको निर्माण आर्थिक वर्ष ०७२/७३मा सुरु गरिएको थियो । सव स्टेसनमा १३२/३३ केभीको एउटा पावर ट्रान्सफर्मर र ३३/११ केभीको एउटा वितरण ट्रान्सफर्मर राखिएको प्राधिकरणले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement