नेपाल वायुसेवा निगमको २८० सिटे पहिलो वाइडबडी जहाज काठमाडौं ओर्लियो

Advertisement

काठमाडौंः नेपाल वायुसेवा निगमले खरिद गरेको पहिलो वाइडबडी जहाज बिहीबार बिहान काठमाडौं आइपुगेको छ । २८० सिट क्षमताको ए ३३० सिरिजको एअरबस कम्पनीको यो जहाज बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

अन्नपूर्ण नाम दिइएको यस नयाँ जहाजलाई स्वागत गर्न वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार विमानस्थल पुगेका थिए । विमानस्थलमा विमान अवतरण गर्दा मंगलधुन र पानीको फोहोराले स्वागत गरिएको थियो । यो जहाज फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि विमान काठमाडौं अवतरण गरेको हो ।

यसअघि न्यारो बडीका दुई वटा ए ३२० विमान खरिद गरेको निगमले अहिले दुईवटा वाइडबडी जहाज थप्न लागेको हो । वाइड बडीका लागि खरिद सम्झौता गरेकोमा पहिलो जहाज आज आइपुगेको हो ।

यसको पहिलो व्यावसायिक उडान संयुक्त अरब इमिरेट्सको दुबईमा गर्ने निगमले यसअघि नै घोषणा गरिसकेको छ । एक महिनापछि यो जहाजले दुबईमा पहिलो व्यवसायिक उडान थाल्नेछ।

कुल २८० सिट क्षमताको यस जहाजमा १८ वटा बिजनेस क्लास र २५६ इकोनोमी क्लासका सिट राखिएको छ । पहिलोवाइड बडी ल्याएको एक महिनापछि अर्को वाइड बडी पनि काठमाडौँ आइपुग्ने निगमले जानकारी दिएको छ।

नेपाल वायु सेवा निगमले यी दुई वाइडबडी जहाज किन्न करिब २२ अर्ब रुपैयाँ खर्च गरेको छ। त्यसका लागि निगमले साढे १२ अर्ब रुपैयाँ कर्मचारी सञ्चयक कोष र अर्को साढे १२ अर्ब रुपैयाँ नागरिक लगानी कोषबाट ऋण लिएको छ। वायु सेवा निगमको यो वाइड बडी आएपछि चारवटा चारवटा ठुला जहाज हुनेछन्। निगमसँग अहिले एयर बस दुईवटा र बोइङ ७५७ एउटा जहाज रहेको छ।

दुइटै वाइड बडी आइसकेपछि निगमले पूरानो बोइङलाई बेच्ने तयारी गरेको छ । निगमले अर्को बोइङ यसअघि नै बेचिसकेको छ । निगमले अरु दुईवटा एयरबस खरिदका नेपाल वायु सेवा निगम सञ्चालक समितिबाट निर्णय गराइसकेको छ । निगमले आन्तरिक उडानका लागि ६ वटा ट्विनअट्टर जहाज खरिद प्रक्रिया सुरु गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement