सौर्य सडक बत्तिको टेण्डरमा भ्रष्टाचार, सयौं कम्पनी योग्य हुँदाहुँदै हरेकपल्ट एउटैलाई ठेक्का

Advertisement

काठमाडौंः प्रधानमन्त्री ओलीले सुशासन र भ्रष्टाचारमा शुन्य सहनशीलताको कुरा गरिरहँदा सौर्य सडक बत्तिको ठेक्कामा कार्टेलिङ गर्दै हरेक टेण्डरमा एउटै कम्पनीलाई ठेक्का दिने काम भएको प्रमाण फेला परेको छ ।

सरकारी कर्मचारीहरुसँगको मिलेमतोमा अमुक कम्पनीलाई लक्षित गरी स्पेसिफिकेशन तयार गर्ने र त्यही कम्पनीलाई ठेक्का दिने कार्यमा स्वयम सरकारी कर्मचारीहरु नै संलग्न देखिएका छन् । दातृ राष्ट्रको समेत सहयोगमा सञ्चालित सौर्य सडक बत्ति परियोजनाहरुमा स्थानीय निकाय तथा सम्वन्धित संस्थालाई आर्थिक प्रभावमा पारेर करोडौं रुपियाँको सडक सौर्य बत्तिको ठेक्का दुई वटा कम्पनीले मात्रै हात पार्दै आएका छन् ।

सौर्य सडक बत्तिको ठेक्कामा निरन्तर कार्टेलिङ हुँदा पनि सरकार र नियामक निकायहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय कसैको पनि ध्यान त्यता पुग्न सकेको छैन ।

अधिकार सम्पन्न वाग्मती सभ्यता विकास आयोजनादेखि अन्य स्थानीय निकायहरुले गरेको टेण्डर प्रक्रियामा सौर्य रोशनी र टपशन उर्जा नामक गरेका दुई वटा कम्पनीले सरकारी कर्मचारीहरुलाई आर्थिक प्रलोभनमामा पारेर कार्टेलिङ गर्दै ठेक्कामा एकलौटी गर्दै आएका छन् ।

सरकारको पूर्ण स्वामित्व रहेको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबाट नेपालमा प्रिक्वालिफाइड झण्डै दुई सय कम्पनी यस्ता सौर्य सडक बत्तिको टेण्डर प्रक्रियामा सहभागी हुँदै आए पनि हरेक ठेक्कामा दुई कम्पनीले मात्रै एकाधिकार कायम रहँदै आएका छन् ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबाट प्रिक्वालिफाइड दर्जनौ कम्पनीहरु सौर्य सडक बत्तिको ठेक्का प्रक्रियामा समावेश हुन पाउने अधिकारलाई कुण्डित गर्दै दुई कम्पनीले एकाधिकार कायम गरेपछि सौर्य उर्जा उत्पादक संघले उनीहरुलाई कारवाहीको तयारी गरेको छ ।

सरकारी निकाय र त्यहाँका कर्मचारीहरु नै मिलेर दुई वटा कम्पनीले गर्दै आएको भ्रष्टाचार र गैरव्यवसायिक चरित्रको सरकारले बेवास्ता गरेकाले कार्टेलिङ गर्दै आएका कम्पनीहरुलाई आफूहरुले नै कारवाही गर्न लागेको संघका एक पदाधिकारीले बताए । सौर्य रोशनी आलोककुमार मालु र टपशन उर्जाका किरण गौतम नाम गरेका व्यक्तिहरुको हो । मालु संघका अध्यक्षसमेत हुन । उनले कार्टेलिङ गरेपछि संघका अन्य पदाधिकारी र सदस्यहरु रुष्ट भएका हुन ।

कसरी हुँदैछ कार्टेलिङ ?

सरसर्ती हेर्दा अधिकार सम्पन्न वाग्मती सभ्यता विकास आयोजनादेखि अन्य महानगरहरुले गरेका सौर्य सडक उर्जाका ठेक्काहरु सार्वजनिक खरिद ऐनअनुसार खुल्ला प्रतिस्पर्धाबाट भएको जस्तो देखिए पनि ती सबै देखावटी मात्रै हुन ।

हरेक ठेक्कामा सौर्य उर्जा नेपाल र टपशन उर्जाबाहेक अरुको हात लाग्दैन । त्यसको कारण ठेक्का प्रक्रिया अघि नै मालु र गौतम सम्वन्धित निकायका प्रमुख र इन्जिनियरहरुलाई आफ्नो प्रभावमा पार्छन र आफ्नो कम्पनीको अनुकुल हुनेगरी स्पेसिफिकेशन तयार गरेर टेण्डर आब्हान गर्न गलाउँछन्, ताकी बाँकी कुनै पनि कम्पनीहरु प्रतिस्पर्धामा आउन नसकुन ।

जसको उदाहरण अधिकार सम्पन्न वाग्मती सभ्यता विकास आयोजनाले हालै गरेको सौर्य सडक बत्तिको ठेक्कामा २१ करोड कारोबार भएको कम्पनीले मात्रै टेण्डरमा भाग लिन पाउने शर्त राखियो । त्यति नै कारोबार नभएका तर प्रिक्वालिफाइड अन्य योग्य कम्पनीहरु स्वाभिमान उर्जा, पेरिनियम इनर्जीलगायतलाई सोही शर्तका आधारमा डिसक्वालिफाइड गरियो र टपशन इनर्जीलाई ठेक्का दिइयो ।

त्यही शर्त र विधि अपनाएर पोखरा लेखनाथ महानगरपालिका, जनकपुर नगरपालिकाको ठेक्का पनि सौर्य उर्जा नेपाल र टपशन उर्जाले हात पार्दै आएका छन् । संघका पदाधिकारी भन्छन– सौर्य सडक बत्तिको टेण्डरहहरुमा अनावश्यक सर्तशरु राख्न लगाएर यी दुई कम्पनी र यसका सञ्चालकहरुले उर्जा क्षेत्रमा कार्टेलिङ गरेका छन् । जसले गर्दा सम्पूर्ण प्रिक्वालिफाइड कम्पनीहरु टाट पल्टने स्थितिमा पुगेका छन् ।

उनीहरुका अनुसार अधिकार सम्पन्न वाग्मती सभ्यता विकास आयोजनामा त्यहाँका आयोजनाका प्रमुख आशीस घिमिरेलाई आर्थिक प्रभावमा पारे जस्तै हरेक महानगरदेखि उपमहानगर र नगरमा कार्यकारी र इन्जिनियरहरुलाई पहिलो नै प्रभावमा पार्ने र आफूअनुकुलको स्पेसिफकेशन तयार गरेर टेण्डर गराउने निकृष्ट कार्य गर्दै आएकाले संघ बाध्य भएर यस्ता कम्पनीविरुद्ध कारवाहीका लागि सरकारलाई आग्रह गर्न बाध्य भएको भन्दै कारवाही नभए आन्दोलनमै उत्रने बताए ।

व्यवसायीले व्यवसाय गरेर नाफा कमाउनु स्वाभाविक भए पनि अस्वस्थ प्रतिस्पर्धा गरेर राज्यलाई नै नोक्सान हुनेगरी व्यवसाय गर्ने काम भएको सम्वन्धित क्षेत्रका व्यवसायी बताउँछन् । अधिकार सम्पन्न वाग्मती सभ्यता विकास आयोजनाको सौर्य सडक उर्जाको ठेक्कामा राज्यलाई दुई करोड रुपियाँभन्दा बढि नोक्सान भएको छ ।

जनकपुर नगरपालिकाको टेण्डरमा पनि टपशन इनर्जी र सौर्य उर्जा नेपालले २० करोडको कारोबार भएको र एउटा वील चार करोड ५० लाख रुपियाँ हुने कम्पनीले मात्रै टेण्डर हाल्न लगाउने सर्त राख्न सफल भएका छन्, जुन शर्त यी दुई कम्पनीबाहेक अरुले पूरा गर्न सक्दैनन् ।

त्यस्तै, टेण्डरमा लिथियम आयोन ब्याट्री लेखेर त्यसको एएच नलेखी अर्को भ्रष्टाचार गर्ने तयारी गरिएको स्रोतको भनाई छ । पोखरा महानगरपालिकाको ४५० पोलमा सौर्य सडक उर्जा हाल्ने ठेक्का पनि टपशन इनर्जीले त्यसरी नै हात पार्न सफल भएको छ । पोखरा महानगरपालिकालाई २० करोडको कारोबार देखाउन लगाइएको थियो ।

Advertisement

Advertisement

Advertisement