अर्जेन्टिनालाई सशक्त फ्रान्सको चुनौति, मेस्सीको जादुमय प्रदर्शन एउटै मात्रै आशा

Advertisement

एजेन्सीहरुः रुस विश्वकप फुटबलअन्तर्गत शनिबार हुने प्रिक्वाटरफाइनलका दुई खेलहरुमध्ये पूर्वविश्वकप विजेताहरु अर्जेन्टिना र फ्रान्सको खेल हेर्न दर्शकहरु आतुर भएका छन् ।

यस पटकको विश्वकपको समूह चरणमा कष्टपूर्ण ढंगले समूह चरणबाट पार पाएको अर्जेन्टिनालाई उपाधिको अर्को दावेदार फ्रान्सले कडा चुनौति दिने देखिएको छ । अर्जेन्टिनाले अघिल्ला खेलहरुमा फितलो प्रदर्शन गर्दै आएकाले पनि फ्रान्स आज हावी हुनसक्ने कतिपयको अनुमान छ ।

यद्यपि अर्जेन्टिनाका चर्चित फुटबलर लियोनेल मेस्सीले जादुमय खेल प्रदर्शन गर्दै आफ्नो टिमलाई अघि बढाउन सफल हुने आशामा मेस्सीका फ्यानहरु देखिन्छन् । दुईपटकको उपाधि विजेता अर्जेन्टिना र एकपटकको विजेता फ्रान्स दुवै उपाधिका मुख्य दाबेदार मानिन्छन् ।

शनिबार ७ः४५ बजेपछि सुरु हुने फ्रान्स र अर्जेन्टिनाबीचको रोचक र कडा प्रतिस्पर्धा हेर्न दिउसैदेखि नेपाली दर्शकहरु तयारीमा जुटेका छन् । यो खेल फरक महादिपहरु युरोप र दक्षिणी अमेरिकाबीचको भएकोले पनि आजको खेल अर्थपूर्ण छ । आज जित हासिल गर्ने टिमले फाइनलसम्म पुग्नसक्ने कतिपयको विश्लेषण देखिन्छ ।

मुस्किलले समूह चरण पार गरेको अर्जेन्टिनाले आजको प्रदर्शन कस्तो गर्ने हो ? सबैको चासोको विषय बनेको छ । यसअघि समर्थकहरुले आशा गरेजस्तो प्रदर्शन गर्न नसकेका मेस्सीप्रति धेरैको आशा र भरोषा कायम रहेकाले पनि आज उनले क्षमता देखाउनुपर्नेछ ।

पहिलोपटक विश्वकपमा सहभागी भएको आइसल्यान्डसँग बराबरीमा रोकिएर क्रोएसियासँग हार व्यहोरेको अर्जेन्टिनालाई फ्रान्सविरुद्धको यो खेल वास्तविकमै ठूलो परीक्षा हुनेछ ।

त्यसमाथि सशक्त खेलाडीहरुले भरिएको फ्रान्स यसअघि दुई खेलमा जित हासिल गरेको र एक खेलमा बराबरी गरेको टिम हो । यस्तो स्थितिमा मेस्सीको जादुमय प्रदर्शनको आशा गर्ने बाहेक अर्जेन्टिनाका फ्यानहरुलाई अर्को विकल्प देखिन्न ।

Advertisement

Advertisement

Advertisement