कुनै अनशनकारी (डा. गोविन्द केसी)ले भन्दैमा मेडिकल कलेज खोल्ने काम रोकिँदैनः मन्त्री तामाङ

Advertisement

काठमाडौंः कानुन मन्त्री शेरबहादुर तामाङले अनशनकारीले भनेकै भरमा काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्ने काम नरोकिने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लवमा शनिबार उनले भने, ‘मेडिकल कलेज कहाँ आवश्यक छ र कहाँ खोल्ने भन्ने निर्णय सरकारले गर्ने हो । जनता र विद्यार्थीलाई ध्यानमा राखेर मेडिकल कलेज खोल्ने हो । संसदले ऐन बनाउने हो । कोही व्यक्ति प्ले–कार्ड लिएर प्रदर्शन गर्न आउने र अनशन बस्दैमा उसले जे भन्यो त्यही हुँदैन् । कानून बनाउने अधिकार सार्वभौम संसदलाई छ ।’

कसैको निर्देशन र अनशनअनुसार कानून नबन्ने तामाङको भनाई थियो । काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने अध्यादेशमा व्यवस्था थियो नि, त्यसलाई तपाईंहरुको सरकारले उल्टाएको हो ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘कसैले अनशन बसेर सरकारलाई निर्देशन दिने होइन । काठमाडौं उपत्यकामा आवश्यकता अनुसार मेडिकल कलेज खुल्छन् । अनशन बसेर विद्यार्थीलाई पढ्नबाट वञ्चित गर्न मिल्दैन् ।’

त्यस्तै, तामाङले के–के विषयमा अनशन बस्ने हो ? त्यो व्यक्तिको स्वतन्त्रताको कुरा भए पनि सार्वजनिक स्थलहरुमा अबदेखि हड्ताल गर्न नपाउने बताए । उनले भने, ‘सरकारले निषेधित क्षेत्र घोषणा गरिसकेको छ । अब त्यस्ता सार्वजनिक स्थलमा हड्ताल र अनशन बस्न पाईँदैन् ।’

चिकित्सा शिक्षा विद्येयक संसदमा टेबुल भइसकेकोले अब त्यो संसदको विजनेश भएको पनि तामाङले बताए । उक्त विद्येयक असार २० गतेभित्रै राष्ट्रपतिबाट अनुमोदन भइसक्ने पनि मन्त्री तामाङले विश्वास दिलाए ।

उनले आफ्नो मन्त्रालय यतिवेला विभिन्न कानूनहरु मस्यौदा गर्न व्यस्त रहेको जनाउँदै यही असार मसान्तभित्र २० देखि २५ कानूनहरु संसदमा टेबुल भइसक्ने पनि बताए ।

Advertisement

Advertisement

Advertisement