उच्चशिक्षाका नाममा ७२ मुलुक पुग्छन नेपाली विद्यार्थी, यो बर्ष झन बढ्यो

Advertisement

काठमाडौंः उच्चशिक्षा अध्ययन र त्यसका नाममा विदेश जानेको संख्या हरेक वर्ष बढेसँगै हाल विश्वका ७२ मुलुकमा नेपाली विद्यार्थी पुगेको पाइएको छ ।

मुलुकले समृद्धिको सपना देखेपनि स्वदेशको उच्चशिक्षा र रोजगारीप्रति भर नगरी ती विद्यार्थी विदेशिएको देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको केशरमहलस्थित छात्रवृत्ति शाखाका अनुसार चालू आवको हालसम्मको अवधिमा मात्रै विश्वका ७२ मुलुकका शिक्षालयमा अध्ययनका लागि ६२ हजार २०० विद्यार्थीले पढ्न जानका लागि स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) लिएका छन् । यो संख्या गत दुई वर्ष अघिको आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर हो ।

आव २०७२/७३ मा यसको झण्डै आधा संख्या अर्थात् ३२ हजार ४८९ ले विदेशमा उच्चशिक्षाका लागि स्वीकृति लिएका थिए । आव २०७३/७४मा यो संख्या बढेर ५० हजार ६५९ पुगेका चालू आर्थिक वर्षको दुई महिना बाँकी रहँदै थप वृद्धि भई ६२ हजारभन्दा बढीले स्वीकृतिपत्र लिएका छन् ।

शाखाका प्रमुख देवीप्रसाद उपाध्याय पौडेलका अनुसार दैनिक सरदर २०० को हाराहारीमा विद्यार्थीहरुले स्वीकृतिपत्र लिइरहेका हुन्छन् । स्वीकृतिपत्र नलिई विदेश पढ्न जाने विद्यार्थीको संख्या सरकारी अभिलेखमा देखिँदैन भने स्वीकृतिपत्र लिएका सबैले अध्ययनका लागि मात्र नलिएको पनि देखिएको छ । उनीहरुले अध्ययनका लागि अनुमति लिएर रोजगारमा लागेका हुन्छन् भने कतिपयले अध्ययन र रोजगारी सँगै अघि बढाएका हुन्छन् ।

उच्चशिक्षा अध्ययनका लागि सबैभन्दा बढी यो वर्ष पनि अष्ट्रेलिया विद्यार्थीको पहिलो रोजाइमा परेको छ । चालू आवको गत साउन २ गतेदेखि हालसम्मको विवरणअनुसार सो मुलुकमा ३३ हजारले स्वीकृतिपत्र लिएका छन् । यस्तै, यो वर्षको गत जेठसम्मको अवधिमा जापानका लागि ११ हजार ९४, संयुक्त राज्य अमेरिकाका लागि दुई हजार ४५८, चीनका लागि एक हजार ९९६, भारतका लागि एक हजार ९७०, पोल्याण्डका लागि एक हजार ४३२, क्यानाडाका लागि एक हजार १८६ र दक्षिण कोरियाका लागि एक हजार ८६ ले स्वीकृतिपत्र लिएको देखिएको छ ।

रोमानिया, भियतनाम, युक्रेन, आइसल्याण्ड जस्ता मुलुकका लागि एक÷दुई जनाले मात्र अध्ययन स्वीकृतिपत्र लिएका छन् । प्रमुख उपाध्यायले अध्ययन स्वीकृतिपत्रका लागि सरलीकृत र छिटोछरितो गर्न आवश्यक सबै कागजात पेस भएको आधा घन्टाभित्र स्वीकृति दिनेगरी प्रबन्ध गरिएको जानकारी दिनुभयो । ती मुलुकमा जाने विद्यार्थीमध्ये महिला र पुरुष विद्यार्थीको अलगअलग आँकडा भने शाखाको अभिलेखमा छैन ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष विष्णुहरि पाण्डेले विद्यार्थी विदेशिने संख्या र मुलुकको संख्या ह्वात्तै बढ्नु अनपेक्षित भएको बताउँदै यो संख्या सबै अध्ययनका लागि मात्रै गएको नहुनसक्ने बताए ।

“विद्यार्थीहरुलाई करियर र काउन्सिलिङ गर्दै आएका करिब एक हजार ५०० परामर्श संघहरुले कसरी उनीहरुलाई परामर्श दिन्छन्, ताकि उनीहरुले उता गएर राम्रो अध्ययन गर्न सकून्, केबल पढ्ने नाममा कामका लागि नजाउन् भन्नेमा हाम्रो पनि मुख्य भूमिका हुन्छ,” अध्यक्ष पाण्डेले भने ।

उनले नेपालमा प्रत्यक्ष विदेशी लगानी (एफडिआई)मार्फत शैक्षिक परामर्श सेवामा पनि विदेशी लगानी आउन खोजेकामा आफूहरुको विरोध रहेको जनाए । अष्ट्रेलियाली कम्पनी नेपालमा यस क्षेत्रमा लगानीका लागि पहल गरिरहेका छन् । पाण्डेले त्यसो भएमा नेपालमा परामर्श केन्द्र धरासायी हुने र पूँजी पलायन हुने खतरा पनि औँल्याए । रासस

Advertisement

Advertisement

Advertisement