भिसी नियुक्ति गर्दा गगन थापाले १४ करोड घुस खाएको प्रसाईंको गम्भीर आरोप

Advertisement

काठमाडौंः बी एन सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले डा. गोविन्द केसीका मागहरु पूरा गर्नुपर्ने कुनै कारण नभएको तर्क गरेका छन् । रिपोर्टर्स क्लवमा आइतबार उनले प्रश्न गरे ‘दुई तिहाई सरकारले एउटा गोविन्द केसीको खुट्टामा ढोग्नुपर्ने ? गोविन्द केसी को हो र ?’

प्रसाईंले आफूले भनेको हुनुपर्छ भन्ने गोविन्द केसी र उनको नाममा अरुले फाइदा लिने काम भइरहेको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा किन केसीलाई लगियो ? भनी प्रश्न गरे । माइतीघरमा कागजका टोपी लगाएर आन्दोलन गर्नेहरुले मेडिकल सञ्चाचकहरुको पीडा नबुझेको उनले गुनासो गरे ।

काँग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाविरुद्ध कडा रुपमा प्रस्तुत भएका प्रसाईले भने, ‘होला, गगन थापाले बोल्न जानेका होलान् । उनले मलाई भनिरहेका छन् अरे नेताहरुलाई भात खुवाएर मेडिकल माफिया उम्किँदैछन । मैले चोरेको सम्पतिबाट मेडिकल कलेज खोलेको होइन । राज्यलाई कर तिरेको छु । सात सय भन्दा बढिलाई रोजगार दिएको छु । नेपाल मेडिसिटि अस्पताल हाम्रो प्रतिस्पर्धामा आएको छ । नभए नेपालमा हाम्रोजति सुविधा सम्पन्न अर्को निजी मेडिकल कलेज छैन् । हामीलाई समेत किन माफिया भनिदैछ ?’

उनले गगन थापाले स्वास्थ्यमन्त्री हुँदा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ करोड रुपियाँ घुस खाएर भिसी नियुक्ती गरेको गम्भीर आरोप लगाए । प्रसाईंले भने, ‘गोविन्द केसीलाई अनशन बसाउन उचाल्ने विवेकशील साझा पार्टीमात्रै नभएर गगन थापा पनि हुन भन्ने कुरा आज उनले संसदमा मलाई माफिया भनेर बोलेकोले नै पुष्टि हुन्छ । तर, हेक्का रहोस गगन थापा स्वास्थ्यमन्त्री हुँदा उनले १४ करोड घुस खाएर भिसी नियुक्ती गरेको कुरा हामीलाई राम्रोसँग थाहा छ ।’

तत्कालिन मन्त्री थापाले घुस खाएको प्रमाण दिन सक्नुहुन्छ भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘घुस भन्ने कुराको प्रमाण हुँदैन । यो त लेनदेनको विषय हो । लिने र दिनेलाई मात्रै थाहा हुन्छ । तर हामीलाई सुचना छ ।’

आफूले नेपाललाई समृद्ध बनाउने उद्देश्यले दुईवटा कम्युनिष्ट मिल्नुपर्छ भनेर नै दुवै पार्टीका अध्यक्षहरुसँग आग्रह गरेको र त्यसको लागि पहल पनि लिएको सुनाउँदै प्रसाईले भने, ‘उहाँहरुले मेरो घरमा साधारण दाल, भात खाँदा पनि खै के कसौंडीको भाँडोमा खै चामलको भात ख्वायो भनेर मलाई माफिया भनेछन । हिजो मुलुकमा गणतन्त्र ल्याउनको लागि लड्ने म पनि हुँ ।’

Advertisement

Advertisement

Advertisement