बिजुली चोर होटल समातियो, जरिवानासहित महशुल अशुल गरिने

Advertisement

काठमाडौंः काभ्रेको नमोबुद्ध नगरपालिका–१ मथुरापाटीस्थित अर्गानिक हिमालय होटलले बिजुली चोरेको फेला परेको छ । सुरक्षाकर्मीसहित आइतबार खटिएको नेपाल विद्युत प्राधिकरण काभ्रेको वितरण केन्द्रकोे टोलीले बिजुली चोर्ने होटल समातेको हो ।

उक्त होटलले प्राधिकरणको वितरण प्रणालीबाट डाइरेक्ट हुकिङ गरी बिजुली प्रयोग गरेको फेला पारेको प्राधिकरणले जनाएको छ । टोलीले होटलको सुरक्षागार्ड र त्यहाँ प्रयोगमा रहेका विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ ।

वितरण केन्द्र प्रमुख रविन्द्रकुमार यादवकाअनुसार होटलले २०६४ सालमा गार्हस्थतर्फका ग्राहकले प्रयोग गर्ने सिंगल फेजको मिटर जडान गरेको थियो । तर, कम क्षमताको लोड लिएर चोरीमार्फत धेरै विद्युत खपत गर्ने विद्युतीय उपकरण प्रयोग गरिरहेको टोलीले फेला पारेको हो ।

मिटर जडान गरेपछि अहिलेसम्म १३ हजार युनिट मात्रै विजुली प्रयोग गरेको देखिएको, जुन ज्यादै अस्वाभाविक हो भन्दै प्राधिकरणले विद्युतीय उपकरण हेर्दा महिनामै १३ हजार युनिट खर्च हुने जनाएको छ ।

सोमबार विस्तृत मूल्याङकनपछि जरिवाना सहितको महशुल निर्धारण हुने जनाइएको छ । यसअघि काभ्रेमै विद्युत चोरी गर्ने वडाध्यक्ष पक्राउ परेका थिए । उनी जरिवानासहितको महशुल तिरेर रिहा भएका थिए ।

Advertisement

Advertisement

Advertisement