मनसुन केही दिन सक्रिय रहने, बाढीको खतरा बढ्यो, सतर्कता अपनाउन मौसम विभागको आग्रह

manson

काठमाडौंः मनसुन पूर्णरुपमा सक्रिय भएर मुलुकभर भारी बर्षा भएपछि बढीको खतरा बढेको छ । केही दिन अबिरल बर्षा जारी रहने देखिएकाले बाढीको संभावना रहेको भन्दै मौसम विभागले सतर्कता अपनाउन सरकारको सम्वन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ ।

न्यून चापीय रेखा नेपालतर्फ सरेकाले मुलुकका अधिकांश स्थानमा बर्षा भइरहेको छ । अझै तीन दिनसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको विज्ञप्तिमा तीन दिनसम्म हल्कादेखि मध्य र केही स्थानमा भारी वर्षा हुने सम्भावना औँल्याइएको छ ।

nic-asia

मौसमविद् वरुण पौडेलका अनुसार मनसुन पूर्ण रुपमा सक्रिय भएकाले केही दिन बर्षा जारी रहने र बाढी पहिरोको समस्या सक्ने संभावना बढि छ । उनले पूर्व, मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सजक रहन सबैलाई आग्रह पनि गरेका छन् ।

जल तथा मौसम विज्ञान विभाग, विज्ञान महाशाखाको बाढी पूर्वानुमान शाखाले पनि सोमबार बाढी बुलेटिन जारी गरी देशका अधिकांश भेगमा वर्षा र पश्चिमी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । बर्षाका कारण सबै प्रमुख नदीमा जलसतह बढ्दो क्रममा रहेको छ । शनिबारदेखि नै सुरु भएको मनसुन थप सक्रिया हुँदै गएको छ ।

बर्षाका कारण मुलुकका केही स्थानमा सडक अवरोधका घटनाहरु सुनिन थालेका छन् । आइतबार रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ । माडीको रौतनी खोलाको पुल भाँच्चिदा सवारी आवागमन बन्द भएको हो ।

त्यस्तै, सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ भने गोलबजार, लहान, सुखीपुर, कल्याणपुर, बस्तीपुर, धनगढीमाई, सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रको सडक हिलाम्य र जलाम्य भएको छ । वर्षाले नेपालगञ्ज आसपास क्षेत्र पनि जलमग्न भएको छ ।

नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएकोछ । यता सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ ।