विनियोजित छ खर्बको पुँजीगत बजेट पूरै खर्च हुने दावी

Advertisement

काठमाडौंः अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा.रामशरण खरेलले आगामी आर्थिक वर्ष को लागि करिब साढे ६ खर्ब पुँजीगत खर्च विनियोजन भएको बताएका छन् ।

संघीय बजेटमा कुल बजेटको २३ दशमलव ९ प्रतिशतमात्र पुँजीगत खर्च शीर्षकमा बजेट विनियोजन देखिए पनि प्रदेश र स्थानीय तह सहित मुलुकको विकास निर्माणमा कुल साढे छ खर्ब रुपैयाँ पुँजीगत खर्च हुने बताएका हुन् ।

संघीय बजेटको ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको छ ।

संघीय सरकारबाट प्रदेश तथा स्थानीय तहमा चालू खर्च शीर्षकबाट समेत विकास निर्माणमा खर्च हुने बताउँदै उनले भने ‘अनुदानलगायत अन्य खर्चबाट पनि देशभित्र विकास निर्माणका कार्य हुनेछ ।’

प्रदेश र स्थानीय तहमा पनि थुप्रै विकास निर्माणका काम हुन्छ । उनले भने सो खर्चसमेत जोड्दा साढे ६ खर्बभन्दा पुँजीगत खर्च पुग्ने उनले बताए ।

देश संघीयतामा गएसँगै तीनै तहका सरकारले आफ्नो आवश्यकता अनुसारका कार्यक्रम तथा योजना बनाएर अघि बढेका छन् ।

एउटै निकायबाट गरिने खर्च र तीन तहबाट गरिने खर्चको स्पिड एउटै नहुने हुँदा अबका दिनमा विनियोजित पुँजी खर्च हुने समेत सल्लाहकार खरेलले बताए ।

साथै प्रदेश र स्थानीय सरकारले पनि आफ्नै विकास निर्माणका कार्यहरू अघि बढाएका छन् । पूर्वाधार निर्माणदेखि सानातिना विकासे आयोजनासम्म प्रदेश र स्थानीय तहले आफैले सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

संघीय सरकारबाट पाउने अनुदान बाहेक उनीहरूले आफ्नै आयश्रोत पनि छ । सो कारणले पनि आगामी आर्थिक वर्षदेखि विकास निर्माणले गति लिने डा. खरेलले बताए ।

सरकारले साउन १ गतेबाटै खर्च गर्न पाउने छन् । अहिले बजेटमाथिको छलफल भइरहेको छ । केही दिनमा पारित हुन्छ नभए पनि सरकारले पेस्कीमार्फत खर्च गर्न सक्नेछ । आवश्यक परियोजनामा खर्च गर्न कुनै बाधा नहुने र सरकारले आफूले बनाएको कार्यक्रम आफ्नै तजविजीमा चलाउन पाउने भएकाले पनि सहजै खर्च हुने उनको भनाइ छ ।

संघीय बजेटमा झट्ट हेर्दा थोरै पुँजीगत खर्च देखिए पनि हाल विनियोजित बजेट सानो नभएको उनको भनाइ छ । चालू आर्थिक वर्षमा सरकारले तीन खर्ब ३५ अर्ब पुँजीगत खर्च विनियोजन गरे पनि हालसम्म असार १४ सम्म जम्मा एक खर्ब ७५ अर्बमात्र खर्च भएको प्रशंग कोट्याउँदै उनले भने आवश्यकता अनुसार बजेट विनियोजन भएको छ । हाल विनियोजन भएको खर्च तीनै सरकारले गर्न सकेमा सरकारद्वारा लक्षित आर्थिक वृद्धिदर सहजै हासिल हुन्छ ।

समृद्ध नेपाल निर्माण गर्ने अभियानमा लागेको सरकारले मानव केन्द्रित बजेट ल्याएकाले धेरैले बजेटको टीकाटिप्पणी गरे पनि यसले साच्चै देशमा समृद्ध भित्र्याउने उनको भनाइ छ । ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्री वर्षमान पुनले सरकारले गर्ने खर्चका साथै विकास निर्माणको काममा दुई गुणा बढी रकम खर्च गर्ने बताए । ‘सरकारले गर्ने खर्चको अलवा वैदेशिक ऋण र अनुदानबाट समेत पुँजीगत शीर्षकमा खर्च हुन्छ। उनले भने ।

Advertisement

Advertisement

Advertisement