भारतबाट आयातित विजुलीको भाउ तीन महिनापछि बढ्ने

Advertisement

काठमाडौंः नेपाल–भारत विद्युत आदान प्रदान समिति (पीइसी)को बाह्रौं बैठक तथा पाँचौं ज्वाइन्ट स्टेरिङ कमिटिसँग सम्वन्धित केही विषयहरुका बारेमा भएको बैठकले तत्काल भारतबाट आयात भइरहेको विद्युतको महशुल नबढाउने निर्णय गरेको छ ।

विद्युत आदान प्रदान महशुल दरसम्वन्धीमा भएको छलफलमा भारतीय पक्षले हालको दरमा १५ देखि २० प्रतिशत महशुल बढाउन प्रस्ताव गरेकोमा नेपाली पक्षले भाउ बढाउन नसकिने बताएपछि यस विषयमा तीन महिनापछि बैठक बसेर टुङ्ग्याउने सहमति भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

बैठकमा भाग लिन नेपाल विद्युत प्राधिकरणको टोली दिल्ली पुगेको थियो । असार २१ र २२ गते भएको बैठकमा हालको विद्युत खरिद दर १३२ केभीमा पाँच रुपियाँ ५५ पैसा र ३३ केभीमा छ रुपियाँभन्दा भाउ बढाउन नसकिने अडान लिएपछि भारतीय पक्षले तीन महिनापछि समितिको बैठक बसेर यस विषयमा छलफल गर्ने सहमति भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, बैठकमा बुटवल–गोरखपुर ४००केभी सीमापार प्रसारणलाइनको नेपालतर्फको खण्ड भारतले नबढाउने स्पष्ट पारेको छ । नेपालतर्फको खण्ड नेपाल आफैले बनाउनुपर्ने भएको छ । भारतीय भूभागमा पर्ने खण्ड भने जीटूजी मोडललगायत विभिन्न मोडलहरुका विषयमा छलफल भएको भन्दै प्राधिकरणले नेपालले प्रस्तुत गरेको १० बर्षीय इनर्जी सिमुलेशनको नजितालाई समेत अध्यन गरी भारतको सेन्ट्रल इलेक्ट्रिसिटी अथोरिटीले उपयुक्त मोडलहरु अर्को बैठकमा राख्ने निर्णय भएको जनाएको छ ।

उक्त प्रसारणलाइन निर्माण हुन चार बर्ष लाग्ने भएकाले सुरुका केही बर्षबाहेक त्यसपछिका बर्षहरुमा नेपालले विद्युत निर्यातका लागि त्यसको प्रयोग गर्ने भएकोले सो कुरालाई मध्यनगर गरेर लगानीको प्रारुप तय गर्नुपर्ने धारणा आफूहरुले राखेको प्राधिकरण टोलीको भनाई छ ।

इनर्जी बैकिङ सम्वन्धमा भएको छलफलमा नेपाली पक्षले समग्र नेपालको विद्युत प्रणालीको परिदृश्य प्रस्तुत गरेको जनाइएको छ । सेन्ट्रल इलेक्ट्रिसिटी अथोरिटीले भारतमा अभ्यास भइरहेका इनर्जी बैंकिङको समेत जानकारी लिएर यसको विधि र प्रारुपको मस्यौदा तयार गर्ने र अन्तिम रुप दिन नेपाल विद्युत प्राधिकरणसँगको अर्को बैठकमा राख्ने सहमति जनाएको छ ।

टनकपुर सबस्टेशनमा थप ५० एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी हालको ५० एमभीएको ट्रान्सफर्मरको क्षमता बढाउन प्रक्रिया अघि बढाइसकेको भारतीय पक्षले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement