‘इन्ट्रान्स फेल हुने ९० प्रतिशत विद्यार्थी एमबीबीएस पढन विदेश जान्छन, करोडभन्दा बढि खर्च गर्छन’

Advertisement

काठमाडौंः नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बाँस्कोटाले पूर्वाधार, गुणस्तरीय शिक्षा प्रदान गर्ने र आवश्यक मापदण्ड पूरा गर्ने मेडिकल कलेजहरुलाई सम्बन्धन दिँदा काउन्सिललाई आपत्ति नहुने बताएका छन् ।

रिपोर्टर्स क्लवमा सोमबार उनले भने, ‘कति वर्षसम्म सम्बन्धन दिने वा नदिने भन्ने कुरा प्रधान होइन, काउन्सिलको दायित्व भनेको मापदण्ड हेर्ने हो । हामीले त क्वालिटी र पूर्वाधार हेर्ने हो । यदि ती कुराहरु पूरा भएका छन् भने सम्बन्धन दिँदा हामीलाई आपत्ति हुँदैन ।’

बाँस्कोटाले थपे, ‘नेपालमा पहिलो निजी मेडिकल कलेज मणिपाल मेडिकल कलेजलाई सम्बन्धन दिँदा उससँग आफ्नो अस्पताल नै थिएन । पूरा क्राईटेएरिया नै पूरा नगरी सम्बन्ध दिईयो । आवश्यक मापदण्ड पूरा नगर्दा विकृति तथा विसंगतिहरु भित्रियो । नेपालमा पूर्वाधार नै नपुगेका मेडिकल कलेजहरुलाई सम्बन्ध दिने गलत प्रवृत्तिको सुरुवात भयो । पहिला सम्बन्धन दिईयो, पछि कलेजहरुले विद्यार्थीहरुसँग पैसा लिएर नै पूर्वाधार खडा गरेका हुन् ।’

चिकित्सा शिक्षा सुधारको लागि ०७१ सालमा गठन भएको कार्यदलले त्यतिवेला सही र सान्दर्भिक प्रतिवेदन दिएपनि अहिलेको परिवर्तित अवस्थामा हुबहु त्यही प्रतिवेदन लागु हुनुपर्छ भन्ने नरहेको उनको भनाई थियो । बाँस्कोटाले भने, ‘माथेमा आयोगले पनि सबै मेडिकल कलेजलाई एउटै बास्केटमा हाल्यो । यो गलत भयो । बेइमानलाई ठेगान लगाउनुपर्दथ्यो । सबैलाई एउटै बास्केटमा हाल्ने काम गलत भएको थियो ।’

आफूले ०७२ जेठ अन्तिममा काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हालको सुनाउँदै बास्कोटाले यो बीचमा डरलाग्दो तथ्यांक फेला पारेको बताए । उनले भने, ‘सन् २०१४ मा एमबिबिएस र बिडिएस अध्ययनको लागि विदेश जाने विद्यार्थीको तथ्यांक एक हजार ३६९ जना रहेछ । यो सन् २०१५ मा एक ४६१ पुग्यो । उनीहरु कति पैसा लिएर गए ? कस्तो शिक्षा लिएर आउँछन् ? भन्ने कुरा हो । वास्तवमा नेपालमा मेडिकल इन्ट्रान्स (प्रवेश परीक्षा) फेल भएका ९० प्रतिशत विद्यार्थीहरु बाहिर पढ्न गएको देखिन्छ ।’ त्यस्ता विद्यार्थीले एक पढाइमा एक करोडभन्दा बढि खर्च गर्ने गरेको बताइँदै आएको छ ,

अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले १४ पटक सम्झौता गरेको उल्लेख गर्दै बाँस्कोटाले भने, ‘मलाई लाग्छ यति धेरैपटक सम्झौता किन गरियो त ? यस अघिका सरकारले डाक्टर केसीसँग १४ पटक सम्झौता गर्नु भनेको कार्यान्वयन नगर्ने हिसाबले नै सम्झौता गरेको भन्ने मेरो बुझाई छ ।’

आफूले विगत तीन दशकदेखि डाक्टर केसीसँग सहकार्य गरेको सुनाउँदै उनले भने, ‘उहाँ निडर र व्यवसायिक रुपमा सक्षम हुनुहुन्छ । कसैको प्रभावमा पर्नुहुँदैन् । केसीको आन्दोलन सराहनीय छ ।’ उनले भोलिका दिनमा निष्पक्ष, निडर र निस्वार्थी व्यक्ति नै आयोगमा जानुपर्ने सुझाए ।

Advertisement

Advertisement

Advertisement