श्रमिकको न्यूनतम पारिश्रमिक रु १३ हजार निर्धारण, साउनदेखि लागू हुने, अझै अपुग भएको गुनासो

Labour-Employment

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० निर्धारण गरेको छ ।

रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलबाट सम्पूर्ण रोजगार प्रदायक क्षेत्रमा कार्यरत श्रमिकको पारिश्रमिक निर्धारण गरिएको हो । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा श्रममन्त्री गोकर्णराज विष्टले भने, “विगतका समयमा बढाइएको पारिश्रमिकको दरभन्दा यो बढी हो, यसलाई हामीले अहिलेसम्मकै उच्चतम वृद्धिदरका रूपमा लिन सक्छौंँ ।”

nic-asia

कुनै पनि कम्पनीले तोकिएको न्यूनतम पारिश्रमिकभन्दा कम दिएमा सो कम्पनीलाई कडाइका साथ कारवाही गरिने मन्त्रालयका सचिव यज्ञेश्वर दाहालले बताने । उनले श्रम ऐन २०७४ को दफा १०६ र १०७ अनुसार मन्त्रालयले प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार, ट्रेड युनियन र रोजगारदाता संगठनको प्रतिनिधित्व हुने गरी एक स्थायी ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन हुने जानकारी दिए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष भवानी राणाले पारिश्रमिक निर्धारणको कार्यान्वयनमा ट्रेड युनियनले हातमा हात राखी हिँड्नु आवश्यक रहेको बताए । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले भने श्रमिकको न्यूनतम पारिश्रमिक ज्यादै कम भएको बताउँदै भने, “पारिश्रमिकले श्रमिकको जीवन धान्न पुगोस् र विदेश जानुपर्ने अवस्था नआओस् भन्ने महासंघको धारणा छ ।” युनियनका अध्यक्षहरूले भने ट्रेड युनियनहरूको बृहत् छलफलबाट श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण भएको बताएका थिए ।