जापानमा बाढी पहिरोबाट १९९ को मृत्यु, वर्षा अझै रोकिएन

Advertisement

टोकियो । जापानको पश्चिमी क्षेत्रमा केही दिनयतादेखि जारी वर्षाका कारण बुधबार बिहानसम्ममा १९९ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रमुख प्रवक्ताले बुधबार सो जानकारी दिएका हुन ।

बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या १९९ पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले पनि पुष्टि गरेको छ । अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका छन् ।

मौसमविदले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो ।

हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुनेहरुमा धेरैजसो पहिरोमा पुरिएका तथा बाढीमा परेका छन् ।

जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ । हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ ।

जापानी अधिकारीहरुले यहाँ गएको तीन दशकपछि पहिलो पटक यति ठूलो मात्रामा वर्षा भएको जनाएका छन् । ती अधिकारीहरुकाअनुसार मौसमविद्हरुले बाढीको जोखिम अझै कायमै रहेको जनाएका पनि बताएका छन् ।

टोकियोको बाहिरी इलाकाहरुमा पनि अविरल मात्रामा वर्षा भएको छ । सो वर्षामा परी टोकियोमा नै कसैको ज्यान नगएको भए पनि पहिलेका तुलनामा पानीको मात्रामा भने बृद्धि भएको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement