दश बर्ष जेल बस्ने तयारीका साथ पाकिस्तानी पूर्वप्रधानमन्त्री स्वदेश फर्किँदै

Advertisement

इस्लामावाद । भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ शुक्रबार स्वदेश फर्किंदै छन् । उनी बेलायतको लण्डन शहरबाट पाकिस्तानको लाहोरका लागि प्रस्थान गरेका छन् । पूर्व प्रधानमन्त्री सरिफ शुक्रबार लाहोर विमानस्थलमा अवतरण गर्दै हुनुहुन्छ ।

लाहोरबाट प्राप्त समाचारमा जनाइएअनुसार सरिफलाई पक्राउ गर्ने हल्लाका कारण पनि यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।ठूलो संख्यामा प्रहरी खटाइएको छ भने लाहोर प्रहरीले शहरलाई नै घेरा हालेजस्तो देखिएको अधिकारीहरुले जनाएका छन् ।

उनलाई शुक्रबार विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गर्न सकिने अनुमान गरिएको छ । पूर्वप्रधानमन्त्री सरिफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताएका छन् । स्वदेशका लागि प्रस्थान गर्नुअघि सार्वजनिक एक भिडियोमा सरिफ भन्छन, “म पाकिस्तानी सेनाको तारो बनेको छु । मलाई लाग्छ म विमानस्थलमा पुगेपछि उनीहरु मलाई पक्राउ गर्न सक्छन् ।”

सरिफलाई १० वर्षको जेल सजायको फैसला हालैमात्र सुनाइएको हो । इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उनलाई १० वर्ष कारावासको फैसला गरेको हो । यही जुलाई २५ मा पाकिस्तानमा आमनिर्वाचन हुन लागेको छ । त्यस निर्वाचनको पुर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकिलहरूले बताएका छन् ।

सरिफलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ । श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री सरिफ बेलायतको लण्डनमा थिए । उनकी श्रीमती क्यान्सर रोगबाट पीडित छिन ।

नेता सरिफ गतवर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट पदमुक्त भएका थिए । भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले उनी प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएको थियो ।

सरिफलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ । उनीमाथि लागेको आरोप सरिफ र सरिफका समर्थकहरूले अस्वीकार गर्दै आइरहेका छन् । उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा गलत अभियोग लगाइएको दाबी गर्दै आएका छन् ।

लामो समयदेखि चर्चामा रहेको पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा देश बाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप सरिफमाथि थियो ।

पाकिस्तानको अदालतले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालीन राष्ट्रपति असिफ अलि जर्दारीविरुद्ध भ्रष्टाचार आरोप लगाउन नमानेको निहुँमा अयोग्य घोषणा गरेका थिए ।

Advertisement

Advertisement

Advertisement