सलमान नचाउने नाममा ठगी गरेको भन्दै सिमान्त पक्राउ, गोर्खा ब्रुअरीका सञ्चालकहरु भने सुरक्षित

Advertisement

काठमाडौं । भारतीय अभिनेता सलमान खानलाई टुँडिखेलमा नचाउने भन्दै करोडौं रुपियाँको टिकट बेचेर ठगी गर्ने ओडिसी इन्टरटेनमेन्टका सञ्चालक सिमान्त गुरुङ पक्राउ परेका छन् ।

केही महिनाअघि गोर्खा ब्रुअरीको योजनामा सलमानलाई नेपालमा ल्याएर टुँडिखेलमा नचाउने भन्दै व्यापक प्रचार गरिएको थियो । तर, आयोजकले टुँडिखेलमा आयोजना गर्ने भनिएको दबाङ द टुरबाहेकको टिकट बिक्रीबाहेक सलमानलाई देखाउँदै व्यापकरुपमा बाहिर पनि रकम अशुल गरेको थापा पाएपछि सलमानले अन्तिम समयमा भ्रमण स्थगित गरेका थिए ।

सोही समयमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले पनि सलमानको कार्यक्रमलाई अवरुद्ध गर्ने चेतावनी दिएपछि सलमानलाई आफ्नो भ्रमण स्थगित गर्न सहज भएको थियो । गोर्खा ब्रुअरीले आफ्नो टुबोर्ग ब्राण्डको बियरको प्रवद्र्धनका लागि सलमानलाई ल्याउने तयारी गरेको थियो ।

तर, आयोगले सलमानलाई चन्द्रगिरी केवलकारको प्रचारका लागि चन्द्रगिरी  घुमाउने भन्दै आइएमइ ग्रुपबाट र होटलहरुको प्रचारका लागि भन्दै पोखराका केही होटलसँग करोडौं रुपियाँ अशुल गरेको थियो । सलमानको कार्यक्रम स्थगित भएपछि पनि आयोजक ओडिसीले पुनः कार्यक्रम आयोजना गर्ने भन्दै टिकट खरिद गर्दाहरुलाई ढाँट्दै आएको थियो ।

तीनदेखि २० हजार रुपियाँसम्मका महंगा टिकटको पैसा फिर्ता नदिएपछि प्रहरीले सिमान्त गुरुङलाई पक्राउ गरे पनि मुख्य आयोजक गोर्खा ब्रुअरीका सञ्चालकहरुलाई भने पक्राउ गरेको छैन । यस प्रकरणमा ओडिसी पर्दा अगाडि देखिए पनि मुख्य आयोजक भनेको गोर्खा ब्रुअरी हो ।

टिकट खरिदकर्ताहरुले लामो समयसम्म धैर्य गर्दा पनि न कार्यक्रम आयोजना गर्ने न टिकटको पैसा दिने काम गरिएपछि गुरुङलाई पक्राउ गरेका हुन । सलमान समाजिक काम वा व्यक्तिगत भ्रमणका लागि आउनु उचित भए पनि रक्सीको प्रवद्र्धनका लागि नेपाल आउनु उचित नभएको भन्दै सामाजिक सञ्जालहरुमा उक्त कार्यक्रमको व्यापक विरोध भएको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमखु धीरजप्रताप सिंहका अनुसार गुरुङलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको हो । तर पर्दा पछाडिको आयोजक र पर्दा अगाडिको गोर्खा ब्रुअरीका मालिकहरुलार्इ प्रहरीले छोएको छैन ।

प्रहरीले गुरुङविरुद्ध ठगी मुद्दा अघि बढाएको जनाएको छ । विभिन्न प्रकरणमा मुछिएका विवादास्पद व्यवसायी राजेन्द्र खेतानको समेत लगानी रहेको गोर्खा ब्रुअरीसमेत यस प्रकरणमा तानिसक्ने देखिएको छ । उनी लामो समयदेखि सार्वजनिकरुपमा देखिने आँट नगरेका खेतान सलमान खानको टिकट ठगी प्रकरणका मुख्य दोषी हुन ।

Advertisement

Advertisement

Advertisement