तनाव सहन नसकेर महेन्द्र पुलबाट हामफालेका पोखरा महानगरपालिकाका वरिष्ठ अधिकृत मृत भेटिए

Advertisement

पोखरा । गएको असार ९ गतेबाट सम्पर्कविहीन रहेका पोखरा महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल भीमाद ६ स्थित सेती नदीको किनारमा मृत अवस्थामा भेटिएका छन् ।

क्षतविक्षत अवस्थामा मृत भेटिएका पौडेलको शवलाई उनको परिवारले पहिचान गरिसकेको कास्की प्रहरीले जनाएको छ । असार ९ गते शनिबार बिहान मर्निङ वाकमा निस्किएदेखि उनी सम्पर्कविहीन थिए । सोही दिन पौडेल महेन्द्र पुलबाट हामफालेको प्रत्यक्षदर्शीका आधारमा प्रहरी निष्कर्षमा पुगेको थियो ।

स्थानीय तह कर्मचारी युनियन नेपालका अध्यक्ष समेत रहेका पौडेल युनियनमा आवद्ध भएकै कारण महानगर नेतृत्वले धम्क्याउने र चरित्र हत्या गर्ने प्रयास गरेपछि उनी तनावमा थिए । फरक राजनीतिक आस्थाका कारण महानगरको संस्थापन पक्षले उनलाई सरुवाको धम्की दिएर मानसिक तनाव दिँदै आएको महानगरका कर्मचारीहरु बताउँछन् ।

महानगरको प्रमुख एवं व्यवस्थापन पक्षबाट घटुवा गर्ने, पदीय हिसाबको मान मर्दन, विनाकारण अपायक सरुवा गर्ने र लाञ्छना लगाउने गरेको उनी सम्वद्ध युनियनका महासचिव रामप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

पछिल्लो समय स्थानीय तहमा जनप्रतिनिधि आएपछि फरक विचार राख्ने कर्मचारीलाई पेशागत र मानवीय संवेदनामाथि प्रहार हुन थालेको युनियनको भनाई छ । पौडेल हराएकै दिन बिहान पोखराको महेन्द्रपुलबाट एक व्यक्तिले सेती नदीमा हामफालेका प्रत्यक्षदर्शीहरुले बताएका थिए ।

Advertisement

Advertisement

Advertisement