प्रतिष्ठाको लागि आज भिड्दै इङ्ल्याण्ड र बेल्जियम, गोल्डेनबुटको टुँगो पनि लाग्नसक्ने

Advertisement

काठमाडौं । जारी २१औं विश्वकप फुटबलअन्तर्गत सेमिफाइनलमा रोकिएका उपाधिको दावेदारहरु इङ्ल्याण्ड र बेल्यिम शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै छन् ।

फाइनलमा प्रवेश गर्न नपाएका दुई टोलीका लागि तेस्रो स्थान प्रतिष्ठाको विषय बनेको छ । आज राति पौने आठ बजे हुने प्रतिस्पर्धामा पूर्व उपाधि विजेता इङ्ल्याण्डलाई आफ्नो इज्जत जोगाउनुपर्ने छ भने जारी विश्वकपमा लगातार विजय हासिल गर्दै आएको बेल्जियमलाई आफू कमजोर नरहेको सन्देश दिन पनि इङ्ल्याण्डलाई हराउनुपर्ने बाध्यता छ । बेल्जियमले फुटबल महारथी ब्राजिललाई समेत पराजित गरेर आएको हो ।

इङ्ल्याण्ड सेमिफाइनलमा उदयमान टोली क्रोयसियासँग पराजित भएको थियो भने बेल्जियम फ्रान्ससँग पराजित भएको थियो । सन् १९९० पछि पहिलोपटक सेमिफाइनलमा पुगेको इङ्ल्याण्डलाई क्रोयसियाले अन्तिम समयमा पराजयको स्वाद चखाएको थियो । सन् १९८६ मा तेस्रो स्थानका लागि खेलेको बेल्जियम फाइनलमा पुग्न नपाए पनि तेस्रो स्थान हासिल गरेर चित्त बुझाउने दाउमा छ ।

जारी विश्वकपमा इङ्ल्याण्ड र बेल्जियमको दोस्रो खेल हो । समूह चरणको खेलमा बेल्जियमसँग १–० ले पराजित भएको इङ्ल्याण्ड आजको खेलमा त्यसको बदला लिने रणनीतिमा छ । इङ्ल्याण्डका प्रशिक्षक गेराथ साउथगेट आफ्ना पछिल्ला दिनहरु निकै अप्ठारा रहे पनि खेलाडीहरु उत्कृष्ट रहेको र उनीहरुसँग इच्छा र सामथ्र्य छ भन्दै आफूहरु सकरात्मक रुपमा प्रतियोगिता अन्त्य गर्ने सोचमा रहेको बताउँछन्

यता बेल्जिमका प्रशिक्षक रोबिर्टो मार्टिनाजले पनि सेमिफाइनलमा फ्रान्ससँग पराजित भएपछि आफूहरुको न्यूनतम लक्ष्य कास्यपदक हासिल गर्नु रहेको भन्दै इंग्ल्याण्डको सामना गर्न आफूहरु तयार रहेको बताउँछन्।

आज हुने तेस्रो स्थानको खेलले संभवतः गोल्डेनबुट (सुनको जुत्ता)को पनि निक्र्यौल गर्नेछ । इङ्ल्याण्डका कप्तान ह्यारी केन छ गोल र बेल्जियमका स्ट्राइकर रामेलु लुकाकु ४ गोलसहित गोल्डेनबुट हात पार्ने दौडमा छन् । पछिल्ला तीन खेलमा ह्यारीले एक गोल मात्रै थपेर छ पुर्याएका छन् ।

खेल्न बाँकी रहेका टिममा फ्रान्सका एन्टोनी ग्रिजम्यानको जम्मा तीन गोल मात्रै छ भने क्रोयसियाका खेलाडीहरुमा दुई गोलभन्दा बढि गर्ने कोही छैनन् । त्यसको कारण संभवतः आज नै गोल्डेनबुटको टुँगो लाग्ने देखिन्छ ।

Advertisement

Advertisement

Advertisement