एक्काइसौं विश्वकप फुटबल फाइनल आज, नेपालीको समर्थन फ्रान्सलाई भन्दा क्रोयसियालाई बढी

Advertisement

मस्को । विश्वकप फुटबलको २१औं संस्करणको टुँगो आज आइतबार लाग्दैछ । रुसमा जारी यस प्रतियोगिताका विश्व फुटबलका थुप्रै महारथीहरुलाई पछि पार्दै जर्मनी र क्रोयसिया उपाधि हासिल गर्ने प्रतिक्षामा छन् ।

यी दुई टिममा फ्रान्स एक पटकको विश्वकप उपाधि विजेता हो भने क्रोयसिया पहिलो पटक उपाधि चुम्दै नयाँ इतिहास रच्ने दौडमा रहेको टिम हो । समूह चरणदेखि अपराजित यात्रामा रहेको क्रोयसिया यस पटक विश्वकप ट्रफी घर लैजाने लालसामा छ ।

विश्वकप फुटबलको फाइनलमा पुग्नु आफैंमा महत्वपूर्ण उपलब्धि हो । त्यसमाथि विभिन्न चरण पार गर्दै फाइनलसम्मको यात्रा गर्नु कठिन कार्य पनि हो । यसरी फाइनलसम्मको यात्रा गरेका दुई टिममध्ये फ्रान्स आफूलाई क्रोएसियाभन्दा बलियो दाबी गर्छ भने क्रोयसियाले यस पटक उपाधि चुम्ने पालो आफ्नो भएको आफ्नो खेलमार्फत सन्देश दिएको छ ।

सन् १९९८ मा पहिलोपटक उपाधि जितेको फ्रान्स यस पटक सोही इतिहास दोहोर्याउने दाउमा छ । सोही बर्ष टिमको नेतृत्व गरेका डिडियर डेसच्याम्पसका नेतृत्वमा प्रशिक्षिति फ्रान्सेली खेलाडीहरु उपाधि हासिल गर्न सफल हुने आशामा छन् । तर, यता २० वर्षअघि फ्रान्सले सेमिफाइनलमा आफूलाई हराएको बदला लिँदै उपाधि चुम्ने रणनीतिमा क्रोयसिया देखिन्छ । फ्रान्सको बलियो रक्षापंक्ति र आक्रामक फर्वाडहरुको सामना गर्दै जित हासिल गर्न क्रोयसियालाई त्यति सहज भने छैन ।

सन् १९९१ मा युगोस्लाभियासँग छुट्टिएपछि क्रोएसियाले सन् १९९८ मा स्वतन्त्र राष्ट्रका रूपमा पहिलोपटक विश्वकप खेलेकोमा छोटो समयमा नै उसले यस क्षेत्रमा राम्रो प्रगति गरेको छ । समूह चरणदेखि नै उत्कृष्ट लयमा रहेको क्रोयसिया इतिहास लेख्ने आजको महत्वपूर्ण अवसरलाई खेर फाल्ने पक्षमा देखिन्न । उसको खेल रक्षात्मक र आक्रामक दुवैमा उत्कृष्ट रहँदै आएको छ ।

फ्रान्स प्रतिभाशाली युवा खेलाडीले भरिएको टोली हो । फ्रान्सेली टोलीमा केलियन एम्बाप्पे, राफेल भारान, सामुएल उम्टिटी, पल पोग्बा, एन्टोइन ग्रिजम्यानलगायत क्षमतावान् युवा खेलाडी छन् भने क्रोएसिया अहिले स्वर्णिम पुस्ता हो । उसका खेलाडी औसत २७ वर्षका छन् । क्रोएसियासँग कप्तान लुका मोड्रिड, इभान राकिटिच, इभान पेरिसिच जस्ता अनुभवी छन् । साथै, दुवै टोलीसँग अनुभवी गोलरक्षक पनि छन् ।

विश्वका अबौं मानिसले प्रत्यक्ष हेर्ने आजको खेल निकै रोचक र आकर्षक हुने देखिन्छ । नेपालमा पनि फुटबल खेलप्रति आकषण बढ्दै गएको छ । सामाजिक सञ्जालहरुमा हेर्दा नेपालीहरु फ्रान्सभन्दा नयाँ टिम क्रोयसियाको पक्षमा बढी जस्तो देखिन्छ । फ्रान्सका समर्थकहरु भने एक पटकको विश्वकप बिजेता क्रोयसियाभन्दा बलियो रहेको भन्दै उसले फेरि बाजी मार्ने तर्क गर्छन । यता क्रोयसियाको पक्षमा देखिएको नेपाली जनमत त्यो तर्कसँग सहमत छैन ।

Advertisement

Advertisement

Advertisement