करीब चार करोड लागतमा विद्यालय पुनःनिर्माण

Advertisement

नुवाकोटः जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा जापानी सहयोग नियोग जाइका मार्फत निर्माण गरिएको तादी गाउँपालिका–२ मैदानस्थित रालुका माध्यमिक विद्यालयको १६ कोठे भवन आइतबार समुदायलाई हस्तान्तरण गरिएको छ ।

तीन वर्षअघिको विनाशकारी भूकम्पले पूर्ण क्षति पुर्याएको विद्यालयको भवन तीन करोड ८९ लाख १७ हजार लगानीमा निर्माण गरिएको भूकम्प प्रतिरोधी पक्की भवन र विद्यालयका लागि आवश्यक पर्ने फर्निचरलगायतका सहायता सामग्री गाउँपालिकाको उपाध्यक्ष ईश्वरी उप्रतीले विद्यालय व्यवस्थापन समितिका सदस्य डोलकुमारी थापा जानुकालाई हस्तान्तरण गरे ।

भवनको साँचो र निर्माण सम्पन्न प्रमाणपत्र हस्तान्तरण गर्दै उपाध्यक्ष उप्रेतीले भूकम्पले क्षति पुगेको विद्यालयको लागि चाहिने सबै शैक्षिक सामग्रीसहितको संरचनाको निर्माण पूरा भएकाले अब विद्यालय प्रशासन, अभिभावक र विद्यार्थीबीचको समन्वयमा गुणस्तरीय शिक्षा प्रवाहमा केन्द्रित हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा का जिल्ला प्रमुख वैकुण्ठ सुवेदीले भूकम्पले क्षति पुगेका विद्यालय निर्माणको कार्यलाई तीव्र गतिमा अघि बढाइएको जानकारी दिए ।

उनको अनुसार जापान सरकारको ऋण सहयोगमा आपत्कालीन विद्यालय पुःन निर्माण कार्यक्रममार्फत केन्द्रीय ठेक्का प्रणालीबाट सम्झौता भएको रालुका माविसहित ५७ विद्यालयमध्ये केहीको निर्माण सम्पन्न नजिक र केही ठेक्का प्रणालीमार्फत काम शुरु गर्न लागिएको छ ।

जाइकामार्फत जिम्मेवारी पाएको डिजाइन एण्ड सुपरीभिजन कन्सल्टेनका जिल्ला अनुगमन इञ्जिनियर गणेश कँडेलका अनुसार जापान सरकारको सहयोगमा निर्माण गर्न लागिएको ५७ मध्ये श्यामसुन्दर र गुलिभर जेभीले निर्माण गरेको रालुका मावि पहिलो भएकाले बाँकी विद्यालयको भवन पनि छिट्टै सम्पन्न हुने गरी कामलाई तीव्र बनाइएको छ ।

Advertisement

Advertisement

Advertisement