राजश्व संकलनको लक्ष्य भेट्टाउन कठिनाई, पुँजीगत खर्चमा खासै सुधार भएन

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको करिव अन्त्यसम्ममा लक्ष्यको ९७ दशमलव ८४ प्रतिशत राजश्व संकलन भएको छ । सरकारले चालु आर्थिक बर्षमा सात खर्ब ३० अर्ब पाँच करोड रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा आइतबारसम्म सात खर्ब १४ अर्ब ३१ करोड रुपियाँ राजश्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

आर्थिक बर्षको अन्त्यमा अन्य दिनभन्दा बढि राजश्व संकलन हुने भएकोले सोमबार संकलन हुने राजश्वले लक्ष्य भेट्ने देखिन्छ । अघिल्ला बर्षहरुमा प्रायः करिव २० प्रतिशतसम्म लक्ष्यभन्दा बढि राजश्व संकलन हुने गरेमा यस बर्ष भने लक्ष्य भेटाउन मुस्किल परेको अवस्था छ । सरकारले लिएको लक्ष्य भेटाउन आज कम्तिमा १५ अर्ब ७३ करोड रुपियाँ राजश्व संकलन हुनुपर्छ ।

यस्तै सरकारले लक्ष्यको ८२ दशमलव ७१ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक बर्षका लागि १२ खर्ब ७९ अर्ब ७६ करोड रुपियाँ बजेट विनियोजन गरेकोमा आइतबारसम्म १० खर्ब ५८ अर्ब ५१ करोड रुपियाँ मात्र खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

यसमध्ये चालुतर्फ ८६ दशमलव ३७ प्रतिशत अर्थात छ खर्ब ९४ अर्ब छ करोड रुपियाँ मात्र खर्च भएको छ भने पुँजीगत खर्च ७६ दशमलव १३ प्रतिशत खर्च भएको छ । यस बर्ष चालु खर्चका लागि आठ खर्ब तीन अर्ब ६६ करोड रुपियाँ गर्ने लक्ष्य राखिएको थियो भने पुँजीगततर्फ तीन खर्ब ३५ अर्ब खर्च गर्ने लक्ष्य लिएकोमा दुई खर्ब ५५ अर्ब १५ करोड रुपियाँ खर्च भएको छ । यद्यपि हरेक आर्थिक बर्षको अन्तिम दिन सरकारी कार्यालयहरुले व्यापकरुपमा भुक्तानी दिने विगतको प्रचलन रहेकोले आज सोमबार पनि अबौं रुपियाँको चेक काटिने र पुँजीगत खर्च बढने देखिन्छ ।

Advertisement

Advertisement

Advertisement