दक्षिण कोरियामा कामदारहरुको पारिश्रमिक झण्डै ११ प्रतिशतले वृद्धि

Advertisement

सोल । दक्षिण कोरियाले स्वदेशी तथा विदेशी कामदारहरुको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । दक्षिण कोरियाले सन् २०१९ का लागि १०.९ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो ।

यहाँको श्रम तथा रोजगार मन्त्रालयले आउँदो जनवरी महिनाबाट नयाँ पारिश्रमिक लागू हुने जनाएको छ । यद्यपि यसलाई संसदले पास गर्न अझै बाँकी छ । वृद्धि भएको पारिश्रमिकले इपीएसमार्फत विभिन्न १७ मुलुकबाट कोरिया आएर काम गरिरहेका लाखौंसहित स्थानीय श्रमिकहरु गरी ३१ लाख भन्दा बढि लाभान्वित हुनेछन् ।

शनिबार १९ घण्टासम्म सरकार, मजदुर संगठन र व्यवसायी प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलपछि श्रमिकहरुको पारिश्रमिक १० प्रतिशतभन्दा बढि बढाउने सहमति भएको हो । जसअनुसार प्रतिघण्टा आठ हजार ३५० वन (७.३७ डलर) हुनेछ । अहिले प्रतिघण्टा सात हजार ५३० वन छ ।

अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुसार हप्तामा ४० घण्टा काम गर्ने विदेशी कामदारले न्यूनतम् एक लाख ६९ हजार ३३१ पाउने छन् । ज्याला वृद्धिले कोरियामा कार्यरत नेपालीहरू उत्साहित भएका छन् । रोजगारीका लागि आकर्षक गन्तव्यस्थलको रुपमा रहेको दक्षिण कोरियामा ५० हजारभन्दा बढि नेपालीहरु कार्यरत छन् ।

Advertisement

Advertisement

Advertisement