पश्चिमसेतीबारे थ्रीगर्जेजसँग छलफल गर्न निर्देशन, काठमाडौं फोहरमैला परियोजनाको पीडीए स्वीकृत

Advertisement

काठमाडौं । लगानी बोर्डको बैठकले पश्चिम सेती जलविद्युत आयोजनाका बारेमा चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनसँग छलफल गरी दुई महिनाभित्र निष्कर्षमा पुग्न लगानी बोर्डलाई निर्देशन दिएको छ ।

बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा मंगलबार बसेको बैठकले अर्थ र उर्जा मन्त्रालयसँग समन्वय गरी उक्त आयोजनाको निर्माणको जिम्मा लिएको उक्त कम्पनी छलफल गरी निष्कर्षमा पुग्न बोर्डलाई निर्देशन दिएको हो ।

नेपाल विद्युत प्राधिकरण र लगानी बोर्डसँगको असमझदारीका कारण थ्री गर्जेजले पश्चिम सेतीबाट हात झिक्ने बताइसकेको छ । बर्षौदेखि चिनियाँ र नेपाली पक्षबीच असमझदारीका कारण यो आयोजना अन्योलमा पर्दै आएको छ ।

बैठकले काठमाडौं उपत्यकाको एकीकृत फोहरमैला व्यवस्थापन परियोजनाअन्तर्गत पहिलो प्याकेजको कार्यान्वयनका लागि आयोजना विकासकर्ता नेपवेष्ट कम्पनी प्रालिसँग वार्ता भई तयार भएको परियोजना विकास सम्झोता (पीडीए)लाई स्वीकृत गरेको छ ।

यस प्याकेजअन्तर्गत काठमाडौं महानगरपालिकासहित दक्षिणकाली, चन्द्रागिरि, नागार्जुन, तारकेश्वर, टोखा, बुढानिलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा र शंकरापुरा गरी १० वटा नगरपालिका समेटिएका छन् ।

त्यस्तै, बैठकले नेपालमा सौर्य उर्जा उत्पादन तथा व्यवस्थापन परियोजनाका लागि डोल्मा फण्ड म्यानेजमेन्टलाई अमेरिकी डलर २० करोड बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।

Advertisement

Advertisement

Advertisement