संविधानको कमा, फुलस्टप फेर्न हुँदैन भन्ने ओली र पुर्नलेखन गर्नुपर्छ भन्ने उपेन्द्र कसरी मिले ?

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसका युवा नेता प्रदिप पौडेलले वर्तमान सरकारले आफ्नो कार्यशैली नसच्याए प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्न आफूहरु बाध्य हुने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लवमा बुधबार पौडेलले भने, ‘वर्तमान सरकारको सय दिन हामीले हेरयौं । यो बीचमा सरकारका सबै तौल र तरिका पनि हेर्यौं । नीति तथा कार्यक्रमको हामीले ताली पिट्यौं । तर, सरकारले खासगरी प्रधानमन्त्री केपी ओलीले हाम्रो यो समर्थनलाई कमजोरी ठान्नुभयो । प्रधामन्त्रीले दुई तिहाईको दम्भ देखाउनुभयो । त्यसैले सरकारकै कारण हामी आज सडक र सदन दुवै ठाउँमा संघर्षमा उत्रिन बाध्य भएका छौं ।’

उनले वर्तमान प्रधानमन्त्री ओली संविधानको ‘कमा’ र ‘फुलस्टप’ पनि परिवर्तन गर्न हुँदैन भन्ने व्यक्ति भएकोले र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यो संविधानको पूर्नर्लेखन गर्नुपर्छ भन्ने व्यक्ति भएकोले उनीहरु किन मिले ? भनेर सोध्न पाईने कि नपाईने भन्दै प्रश्न समेत तेर्साए । पौडेलले थपे, ‘केपी ओली र उपेन्द्र यादव किन मिल्नुभयो ? यो विषय पारदर्शी हुनुपर्छ ।’

वर्तमान सरकारले विश्वविद्यालयका उपकुलपतिलाई विमानस्थलबाट कब्जा गरेर थुनेको, आफू अनुकुल रिपोर्ट बनाउनको लागि अस्पतालबाट डाक्टरलाई अपरहण गरेको, पत्रकारको प्रश्नको सामाना गर्न नसक्दा टेलिभिजन कार्यक्रम नै बन्द गराएको, सिण्डिकेट अन्त्यको हल्ला चलाए पनि विभागका महानिर्देशक हटाएको, गलत गर्ने ठेकेदारलाई कारबाही नगरेको, महँगीले आकाश छोएको लगायत जनजिविकाका थुप्रै मुद्दामा वर्तमान सरकार मौन रहेको उनको गुनासो छ ।

नेता पौडेलले थपे, ‘त्यतिमात्रै होईन, माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्यो, डाक्टर गोविन्द अहिले १५ औं अनशनमा हुनुहुन्छ । उहाँका माग सम्बोधन गर्न सरकार गम्भीर देखिएन । माथेमा आयोगको प्रतिवेदन अनुसार अध्यादेश ल्याउने सहमति भएको थियो । तर, सरकारले त्यसलाई तोडमोड गरेर विद्येयक ल्याउन खोजेको छ । यस्तो अवस्थामा अब यो सरकारलाई समर्थन गरिराख्नुको कुनै अर्थ छैन । र, त्यस्तो अवस्था पनि अब रहेन ।’

सभामुख र उपसभामुख एउटै दलबाट बन्नु संविधान विपरित भएको भन्दै उनले उक्त कदम तुरुन्त सच्याउनुपर्ने बताए । पौडेलले भने, ‘हामीलाई सरकारको कब्जाको रणनीति मान्य छैन । सरकारको एउटा निर्णयले आज हजारौंका संख्यामा असर परेको छ । अघिल्लो सरकारले नियुक्ती गरेका सबै कुरा खारेज गर्ने कुराले के देखाउँछ भने सरकारमा दुई तिहाईको दम्भ बढि भयो ।’

दुई तिहाईको दम्भमा जनतालाई तर्साउने र धम्काउने, लोकतान्त्रिक व्यवस्थालाई कमजोर तुल्याउने कुरा आफूहरुलाई कुनै हालतमा पनि स्विकार्य नरहेको पौडेलको भनाई छ । उनले भने, ‘सरकारले सुशासन र समृद्धिको लागि अब पनि काम गर्न नसके, यसको अपजस सबै सरकार र यसको नेतृत्व गरेका व्यक्तिलाई जान्छ ।’

प्रधानमन्त्री ओली आफूहरुको पनि प्रधानमन्त्री भएको बताउँदै उनले भने, ‘उहाँ त हाम्रो पनि प्रधानमन्त्री हो नि । तर, उहाँ निरन्तर हामीलाई गाली गर्नुहुन्छ । प्रधानमन्त्रीले आफ्ना चाल, प्रस्तुति र व्यवहारहरु बदल्न जरुरी छ । सरकारले आफ्ना प्राथमिकताहरु बदल्न जरुरी छ ।’

उनले जनताको अधिकार र स्वतन्त्रतामाथि धावा बोल्ने काम कहीँ कतैबाट पनि हुन नहुने बताए । पौडेलले लोकतन्त्रमा संस्था बलियो बनाउनुपर्ने बताउँदै भने, ‘तर अहिले प्रधानमन्त्रीको गतिवधि र चाला हेर्दा उहाँ व्यक्ति बलियो बन्नतर्फ केन्द्रित हुनुहुन्छ । उदाहरणको लागि राष्ट्रिय अनुसन्धान विभागलाई आफू केन्द्रित गर्नुभयो । राजश्व अनुसन्धान विभाग उहाँलाई किन चाहियो ? त्यस्तै सम्पत्ति शुद्धीकरण आफू माताहतमा राखेर तर्साउन खोज्दैहुनुहुन्छ । शक्ति आफूकेन्द्रित गरेर मनपरी गर्न पाईदैन् । सरकारलाई सच्चिनको लागि आग्रह छ ।’

Advertisement

Advertisement

Advertisement