पोखरा विमानस्थलको काम १५ प्रतिशत सकियो, समयमै काम सक्नुपर्छः ओली

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तीन वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले भने, “पोखरा विमानस्थलको आफ्नै महत्व छ । जसरी भए पनि तोकिएको समयमा पूरा हुनुपर्छ । कुनै पनि बहानामा ढिलाइ गर्न पाइँदैन र मिल्दैन ।”

प्रधानमन्त्री ओलीले विमानस्थलका लागि थप जग्गा आवश्यक पर्ने भए अधिग्रहण गर्नसमेत सम्बद्ध निकायलाई निर्देशन दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

ओलीले भने, “थप जग्गा आवश्यक भए अधिग्रहण गर्नुस्, गुणस्तरीय काम गर्नुस् । तोकिएको समयमा विमानस्थल निर्माण सम्पन्न गर्नुस् ।”

प्रधानमन्त्री ओलीले विकास निर्माणका आयोजनाको अनुगमन गर्ने निकायको समेत अनुगमन गर्ने घोषणा यसअघि नै गरिसकेका छन् । काममा ढिलासुस्ती गर्ने, बहाना निकालेर बस्ने तथा कमजोरी गरेर दोष दिने प्रवृत्तिको समेत अन्त्य गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले हालसम्मको कार्यसम्पादनमा सन्तोष व्यक्त गर्दै यस विमानस्थलको निर्माणमा प्रदेश सरकार, स्थानीय जनता, पोखरा महानगरपालिका, कार्यरत कर्मचारीसमेतको भूमिकाको प्रशंसा गरे ।

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुयान कम्पनीले महत्व दिई सेवा सञ्चालनमा चासो राखेको भन्दै उनले आज पोखरामा आयोजित कार्यक्रममा सोहीअनुसारको सेवा तथा सुविधाको प्रबन्ध गर्नसमेत निर्देशन दिए ।

प्रधानमन्त्रीले ‘ह्याङ्गर’, व्यवस्थित कार्यालय उपकरणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया तत्काल अघि बढाउनसमेत सम्बद्ध अधिकारीलाई निर्देशन गरे ।

प्रधानमन्त्रीले पोखरा पर्यटकीय दृष्टिकोणले नेपालको अत्यन्त महत्वपूर्ण स्थान भएको हुँदा विमानस्थलको निर्माणसँगै नेपालको पर्यटकीय गतिविधिमा विस्तार तथा यसबाट आर्थिक वृद्धिमा योगदान पुग्ने बताए ।

उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ संकल्पको सफलताका लागि योगदान पुर्याउन पनि ठूला भौतिक पूर्वाधारको विकास महत्वपूर्ण एवं जरुरी रहेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुने दावी गरे ।

उनले विमानस्थल निर्माणसँगै वृद्धि हुने आर्थिक क्रियाकलापसमेतका लागि अन्य मन्त्रालयले पनि पहुँचमार्ग स्तारोन्नति, बस्ती विकासलगायत कार्य अघि बढाउनुपर्ने उल्लेख गरे । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतको सहभागिता थियो ।

सोही मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले पर्यटन क्षेत्रमा विमानस्थलको महत्व, पोखरामा यसको आवश्यकता, सरकारको प्राथमिकता, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि भौतिक पूर्वाधारको विकासमा जोड दिइएको बचाए ।

सो विमानस्थलको हाल १५ प्रतिशत निर्माण कार्य सकिएको छ । पोखरामा आज आयोजित कार्यक्रममा उक्त विमानस्थलको हालसम्मको कार्य प्रगतिको प्रस्तुति गरिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय गौरवको आयोजनाका निर्देशक प्रदीप अधिकारीका अनुसार हालसम्म आयोजनाको प्रगति सन्तोषजनक रहेको छ ।

सन् २०१९ को अन्त्यसम्ममा ५५ प्रतिशत भौतिक प्रगति हुनेछ । यस्तै सन् २०२० को अन्त्यसम्ममा ८५ प्रगति हुने र सन् २०२१ को जुनसम्म सम्पूर्ण भौतिक तथा अन्य कार्य सम्पन्न हुने गरी कार्ययोजना तयार गरिएको सो अवसरमा जानकारी दिइएको थियो । निर्माण कार्य सम्पन्न गरी सन् २०२१ अर्थात् आगामी तीन वर्षदेखि हवाई सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

सो विमानस्थलको लागत करीब २२ अर्ब रहेको छ । सरकारले सो विमानस्थललाई पर्यटन केन्द्रित गरी ‘बुटिक विमानस्थल’ बनाउने बताउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement