डा. केसीको पक्षमा सडकमा नआउन गगनलाई ‘हाम्रो पार्टी’ नामक गरेको दलको चेतावनी

Advertisement

काठमाडौं । हाम्रो पार्टी नेपाल नामक एक पार्टीले अनशनरत डाक्टर गोविन्द केसीको पक्षमा सडकमा नआउन प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता एवं सांसद गगन थापालाई चेतावनी दिएको छ ।

सो पार्टीका संयोजक गोविन्द बोहरा ‘ब्रम्हाण्ड’ले बिहीबार पत्रकार सम्मेलन गरेर विगत २० दिनदेखि अनशनरत डा.गोविन्द केसीको पक्षमा काँग्रेसलाई सडकमा नआउन चेतावनी दिएका हुन् ।

विगत छ महिनादेखि आफूहरु माथेमा आयोगले तयार पारेको चिकित्सा शिक्षा तथा स्वास्थ्य प्रतिवेदनको बिपक्षमा उभिएको बताउँदै ब्रहमाण्डले काँग्रेसलाई केसीले बोकेर राजनीति गरेको खण्डमा आफूहरुले त्यसको प्रतिवाद गर्ने चेतावनी दिए ।

उनले भने, ‘काँग्रेस सत्तामा हुँदा डाक्टर केसीका मागहरु सम्बोधन नगर्ने अहिले आएर राजनीति गर्ने ? साझा विवेकशील, नयाँ शक्तिले पनि ध्यान दिँदा हुन्छ । गगन थापाजी तपाई सडकमा नआउनुहोस् । हामी सडकमा ओर्लिनुपर्यो भने असहज होला । हामी निर्वाचनपछि जन्मेका हौं । हामीलाई कसैले कमजोर नठाने हुन्छ, देशमा सक्रिय रुपमा रहेका २९ वटा बैदेशिक शक्तिहरुको संरचना ध्वस्त पार्नु आजको खाँचो हो । वैदेशिक शक्तिहरुको ईशरामा नाच्नेहरु होसियार । २००७ सालपछि हाम्रो राष्ट्रियता कमजोर बन्दै गैरहेको छ ।’

डा. गोविन्द केसीको विपक्षमा खरोरुपमा उत्रेका संयोजक ब्रहमाण्डले नेपाल सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि गोविन्द केसीको पक्षमा काम गरिरहेको आरोप लगाए ।

उनले भने, ‘जनताका आकांक्षा एकातर्फ छन, सरकार अर्को बाटोमा छ । सरकारका मन्त्रीहरु गोविन्द केसीको पक्षमा काम गरिरहेका छन् । प्रधानमन्त्रीले फरक अभिव्यक्ति दिइरहेका छन् । मेरो आग्रह छ प्रधानमन्त्री ओलीले खुट्टा दरिलो तरिकाले टेक्नुपर्छ । कोही मला ? को मर्न जालान् ? त्यो फरक कुरा हो । संविधानले दिएको अधिकार प्रयोग गर्नुपर्छ ।’

Advertisement

Advertisement

Advertisement