काठमाडौं महानगरपालिकाले सडकयात्रीलाई बाटोमा डस्टबिन राखिदिने

Advertisement

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सडकयात्रीबाट निस्कने फोहर व्यवस्थापनका लागि सार्वजनिक स्थलमा फोहर राख्ने भाँडो (डस्टबिन) राख्ने भएको छ । शनिबारदेखि वडा नं ७ बाट शुरु गरेको उक्त कार्यक्रम अन्य वडामा पनि सञ्चालन गर्ने कामपाको भनाइ छ ।

स्वच्छ वातावरण निर्माणबाट स्वस्थ्य शहरी जीवन अभियान शुरु गर्नका लागि कामपाले यस अभियान शुरु गरेको वडा नं ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलको भनाइ रहेको छ ।

काठमाडौँ महानगरपालिका–७ मा रहेको सेन्टलरेन्स कलेजका अध्यक्ष केशवप्रसाद दंगालले वडाध्यक्ष शुद्धकुमार डंगोललाई आज डस्टबिन प्रदान गरे । शैक्षिक संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत, सडकयात्रीले उत्पादन गर्ने फोहर संकलन प्रयोजनमा ल्याउन ७० लिटर क्षमताका ५० वटा डस्टबिन दिइएको हो ।

सो अवसरमा वडाध्यक्ष डंगोलले, सहभागितामूलक अभियानबाट गुणस्तरीय जीवन पद्धतिको विकास गर्ने कामलाई वडाले प्राथमिकता दिएको धारणा राखे । “हामी चाहन्छौँ, नागरिक जीवन सहजतामा कुनै कमी नहोस्, यसमा हरेकको जिम्मेवारी गासिएको छ ।”

सोही अवसरमा कलेजका अध्यक्ष दंगालले सकारात्मक सोचले अघि बढाइएको अभियान सार्थक नहुञ्जेल चलाइरहनुपर्ने धारणा राखे ।

कलेजबाट समाज व्यवस्थापनका सन्देश लिएर बस्तीमा पुग्ने योजनाअनुरुप विद्यार्थीलाई परिचालन गरेर अभियान शुरु गरिएको बताउँदै, कलेजका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदी र प्रधानाध्यापक पुरुषोत्तम महर्जनले अभियानको परिणाम नआउञ्जेल काम गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

कलेजको स्नातक तहमा अध्ययन गर्ने विभिन्न विधाका विद्यार्थीले डस्टबिन विभिन्न सार्वजनिक स्थानमा लगेर राख्नेछन् भने डस्टबिन कहाँ राख्ने भन्ने कुराको निक्र्यौल वडा समितिले गर्नेछ । पछिल्लो समय कामपामा फोहर व्यवस्थापनमा देखिएको समस्यालाई कम गर्नका लागि यस किसिमको अभियान शुरु गरिएको हो ।

Advertisement

Advertisement

Advertisement