मेलम्ची खानेपानीको पाइपलाइनले  इन्टरनेटमा  समस्या

Advertisement

काठमाडौं । मेलम्ची खानेपानीको पाइप राख्ने कामले गर्दा काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा राखेको इन्टरनेट प्रयोग गर्नमा समस्या भएको छ ।

केही समयअघि कामपाले सात सार्वजनिक स्थानमा इन्टरनेट जडान गरेको थियो । मेलम्ची खानेपानीको पाइप राख्ने काम भइरहँदा केही स्थानमा इन्टरनेटको तार केही समयको लागि काट्नुपर्ने भएकाले उक्त सेवामा समस्या आएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिए ।

उनका अनुसार केही स्थानमा अहिले सो सेवामा समस्या भए पनि छिट्टै समस्या हटी सेवा पुनःसञ्चालन हुनेछ । तीन महिनाअघि कामपा र वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क इन्टरनेट जडान गरिएको थियो ।

सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशीको चाप बढी हुने भएकाले उनीहरुको सुविधालाई ध्यानमा राख्दै कामपाले यस्तो व्यवस्था गरेको हो । अहिले जडान गरिएका सबै स्थानमा १० एमबीपीएस क्षमताको इन्टरनेट राखिएको छ । सबै स्थानमा गरी दैनिक २०० नागरिकले मात्र इण्टरनेट सुविधा प्रयोग गर्ने अनुमान कामपाले गरेको थियो ।

हनुमानढोका र बालाजुमा नागरिक बढी आउने जाने भएकाले उक्त स्थानमा यसअघि जडान गरिएको भन्दा धेरै एमबीपीएस क्षमताको इन्टरनेट राख्नुपर्ने अवस्था आएको काफ्लेले जानकारी दिए । आवश्यकता हेरी अन्य स्थानमा पनि इन्टरनेट राख्ने योजना कामपाको छ । ती नागरिकले इन्टरनेट सेवा निःशुल्क प्रयोग गर्न पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement