केसीसँग वार्ता गर्न नदिन विभिन्न तत्वहरु लागेका छन्ः प्रचण्ड

Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता हुन नदिन विभिन्न तत्वहरु लगिपरेको दावी गरेका छन् ।

विगत २४ दिनदेखि सत्याग्रह आन्दोलन गरिरहेका डा. केसीका पक्षले उठाएका मागहरु सम्बोधन गरी उनको जीवन रक्षा गर्न सरकारलाई चौतर्फी दबाब बढिरहेको बेला प्रचण्डले केसीसँग वार्ता हुन नदिन खेल भइरहेको तर्क अघि सारेका हुन ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने ‘गोविन्द केसीको अनशनमा हामी सबैले मिलेर जानुपर्छ भनेका छौं । उहाँको जीवनरक्षाको लागि हामीले तीन जना डाक्टरको सल्लाहअनुसार जुम्लाबाट ल्याएका हौं । हामीले वार्ता टोली बनाइसकेका छौं तर, यहाँ के भइरहेको छ भने ,उहाँसँग वार्ता गर्न पनि नदिने, समस्याको समाधान गर्न पनि नदिने । सरकारी डाक्टरहरुलाई बिरामी चेक गर्न पनि नदिने काम भइरहेको छ । वार्तामा त लेनदेन हुन्छ, तर लेनदेन गर्न पनि नदिने । एउकै कुरा अध्यादेश जस्ताको तस्तै ल्याए मात्र मान्छौं भन्ने छ ।’

शिक्षा क्षेत्रमा समस्या रहेको भन्दै प्रचण्डले सबै समस्याहरुलाई हल गर्न उच्च शिक्षा आयोग बनाउन सरकार तयार रहेको पनि बताए । उनले संविधान सबैले मान्नुपर्ने बताए । प्रचण्डले भने ‘संविधान सबैले मान्नुपर्छ, केही तत्वहरुले अराजकता निम्त्याउन खोजिरहेका छन् । एकाध मान्छेले जे भन्यो, त्यही गर्ने हो भने किन चाहियो संविधान ? किन चाहियो स्थानीय तह ? त्यसको विरुद्द जानु नियमसंगत होइन ।’

शिक्षा क्षेत्रमा सुधार गरेमात्र समाजवादतर्फ जान सकिने भन्दै उनले
थपे ‘जनताको माझमा पनि ७० प्रतिशत विज्ञान प्रविधि र व्यावसायिक क्षेत्रमा लगानी गर्ने बताएका छौं । नयाँ युगको परिवर्तनका लागि सबैले सहयोग गर्नुपर्छ । निजी सम्पत्तिलाई राष्ट्रियकरण गरे मात्र समस्याको समाधान हुन्छ भन्ने छ,तर त्यो सत्य होइन । सम्पूर्ण निजी क्षेत्रलाई अहिले नै राष्ट्रियकरण गर्न संविधानले दिँदैन ।’

Advertisement

Advertisement

Advertisement