‘भैरे’ले तान्यो दर्शक हलमा टिकट खोसाखोस

Advertisement

काठमाडौंका २० हलमा बक्सअफिस लागू भएको तेस्रो दिन अर्थात् शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘भैरे’ ल सुखद सुरुवात गरेको छ ।

हलहलमा दयाको क्रेज देखिएको छ । शुक्रवार औशत रहेपनि शनिवार र आइतवार विहानैदेखि राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण गंगा जस्ता मध्यम वर्गिय दर्शकको चाप रहने हल भरिभराउ देखिएका छन् ।

मल्टिप्लेक्समा पनि शनिवार फिल्मले पाएको शो हाउसफूल छन् । काठमाडौं बाहिरका चितवन, पोखरा, बुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि फिल्म हेर्ने दर्शकको चाप राम्रो रहेको वितरकको दावी छ ।

शनिवार दिउँसो २ बजे फिल्मका कलाकार बुद्दि तामाङ, वर्षा शिवाकोटी, विक्रान्त बस्नेत, जान्हवी बोहरा, बाल कलाकार अनुभव रेग्मीसँगै निर्देशक एभरेष्ट सूर्य बोहरासहितको टीम राजधानीको गोपीकृष्ण हल र मिरा हल पुग्दा हलको सबै टिकट बिक्री भइसकेको थियो ।

फिल्म हेर्नभित्र र फिल्म हेरेर बाहिर जान लागेका दर्शकले आँखा सामुन्ने पर्दाका कलाकार देख्दा खुशी हुँदै ताली बजाएर स्वागत पनि गरे । ‘नार्ई नभन्नु ल’ को ‘फूच्चे’ भन्दै सेल्फि खिच्ने दर्शकको भीड थेगिनसक्नु थियो बाल कलाकार अनुभवलाई ।

अभिनेता दयाहाङ राई र अभिनेत्री सुरक्षा पन्त भने हलमा देखिएनन् । फिल्म हेरेर निस्केका अधिकांशले ‘भैरे’ को बारेमा राम्रो बोलेका छन् भने विषयवस्तु मन परेको धेरैको प्रतिक्रिया थियो । अभिनेत्री वर्षाले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाबाट आफू उत्साहित भएको बताइन् ।

कलाकार बुद्दि तामाङले आफ्नो मिहिनेतलाई रुचाइदिएकोमा दर्शकलाई धन्यवाद दिए । अर्का कलाकार बिक्रान्त बस्नेत आफ्नो कमब्याक सफल भएकोमा खुसीले दंग भएको देखिन्थे । दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियाको खुसी निर्देशक एभरेष्ट सूर्य बोहराको अनुहारमा देखिन्थ्यो ।

उनले भने ‘हाम्रो मिहिानेतलाई मन पराईदिनु भयो यो नै हाम्रो सबैभन्दा ठूलो सफलता हो ।’फिल्मको ‘वर्ड अफ माउथ’ राम्रो रहेकाले लामो समयसम्म चल्ने निर्देशक बोहोराको विस्वास छ । त्यस्तै निर्माता प्रेम प्रसाद पौडेलले भने ‘ दर्शकको यो मायाले आफू झनै उत्साहित भएको बताए ।’

फिल्मले शनिवार देशभरी नै शत प्रतिशत व्यापार गरेको वितरक र निर्माताले बताएका छन् । पे्रम प्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता रहेको फिल्ममा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत सह निर्मातामा छन् ।

पुरुषेत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृष्य खिचेका छन् । नेपालय सिनेमा ईन्टरनेशनद्दारा निर्मित तथा लेख बहादूर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को सम्पादन बनिष शाहले गरेका छन् ।

सूर्य थोक्करको द्दोन्द्द रहेको यस फिल्लमा दयाहाङ राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्दि तामाङ, विक्राँत बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकूरी, अंकित पौडेल, सयाहाङ राई, जाज्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगााएतका कलाकारहरुको अभिनय रहेको छ ।

Advertisement

Advertisement

Advertisement