उदयपुरले एक वर्षमा बेच्यो दुई अर्बभन्दा बढी सिमेन्ट

उदयपुर सिमेन्ट उद्योग

उदयपुर । नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षमा झण्डै दुई अर्ब रुपियाँभन्दा बढी मूल्यको सिमेन्ट बिक्री गर्न सफल भएको छ ।

प्रशासनका अनुसार २०७४ को साउन महिनादेखि २०७५ को असारको पहिलो हप्तासम्ममा उद्योगले दुई अर्ब २२ करोड २७ लाख ९६ हजार रुपियाँ मूल्यको सिमेन्ट बिक्री गरेको हो ।

unitednic

विद्युत् भार कटौतीको मार ब्योहोर्दै आउन परेको सिमेन्ट उद्योगले आफ्नै प्रयास र कठिन परिश्रमबाट यस वर्ष एक लाख २९ हजार पाँच सय मेट्रिक टन अर्थात् २४ लाख ६ हजार नौ सय बोरा सिमेन्ट उत्पादन गरेर नयाँ रेकर्ड राखेको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताए । उत्पादित सिमेन्टको मूल्य दुई अर्ब २३ करोड रुपियाँ बराबरको रहेको पनि महाप्रबन्धक पौडेलले जानकारी दिए ।

उदयपुर जिल्लाको जलजलेमा अवस्थित उद्योग विं. सं २०४४ बाट सञ्चालनमा आएको उद्योगले विद्युत् भार कटौतीको मार खेप्नुपरेको कारण २०५८ सालमा पहिलो पटक ठूलो परिमाणमा सिमेन्ट उत्पादन गरेर बिक्री गर्न सफल भएको थियो ।

त्यसपछिका समयमा यस वर्षमात्र सिमेन्ट उद्योगले सबैभन्दा बढी सिमेन्ट उत्पादन गरी बिक्री गरेको र यो नयाँ रेकर्ड स्थापना भएको उद्योगका महाप्रबन्धक पौडेल बताए ।

पाँच महिना यतादेखि विद्युत् भार कटौतीको समस्या हल हुन थालेपछि अहिले सिमेन्ट उद्योगले दैनिक सात सय ५० मेट्रिक टनभन्दा माथि सिमेन्ट उत्पादन गर्दै आएको छ । विगतमा उद्योगले मुस्किलले पाँच सय ५० मेट्रिक टन मात्र सिमेन्ट उत्पादन गर्ने गरेको थियो ।

देशकै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको दैनिक आठ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ ।