अन्नपूर्णपछि मकालु पनि आइपुग्यो

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेका दुई वाइडबडी जहाजहरुमध्ये दोस्रो जहाज पनि काठमाडौं आइपुगेको छ । ए ३३०–२०० सिरिजको जहाजका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले ९एन एएलजे कल साइन दिएको छ । मकालु नाम दिइएको यो जहाज बिहीबार विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

यसअघि असार १४ गगते सोही सेरिजको अन्नपूर्ण नाम दिइएको वाइडबडी जहाज काठमाडौं आएर व्यवसायिक उडानको तयारीमा रहेको छ । अन्नपूर्णले गत सोमबार भारतको इन्दिरा गान्धी विमानस्थलसम्म प्रुफिङ (परीक्षण) उडान गरेको थियो । उक्त जहाजको पहिलो व्यावसायिक उडान यही साउन १६ गते कतारबाट सुरु हुँदैछ ।

दोस्रो वाइडबडी जहाज लिन निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको टोली फ्रान्सको तुलुज पुगेको थियो । नयाँ जहाजमा पनि पहिलो वाइडबडीमा जस्तै दुई सय ७२ सिट छन् । जसमा १८ वटा सांग्रिला (बिजनेस) क्लास र दुई सय ५६ वटा इकोनोमिक (साधारण) क्लासका सिट रहेको छ ।

निगमले नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको १२।१२ अर्ब रुपियाँको ऋणबाट दुईवटा वाइडबडी जहाज खरिद गरेको हो । निगमलाई २०७४ जेठ २८ मा ऋण दिने सहमति गरेसँगै जहाज आउने सुनिश्चित भएको थियो । उसले खरिद गरेको वाइडबडी एउटा जहाजको मूल्य १० करोड ४८ लाख अमेरिकी डलर छ।

नेपालले सन् २०२० मा मनाउन लागेको ‘भिजिट नेपाल’ र पर्यटन विकासका लागि कोसेढुंगा सावित हुने विश्वास निगमले लिएको छ । नयाँ दुईवटा वाइडबडी जहाजले नियमित रूपमा उडान गर्न थालेसँगै अन्तर्राष्ट्रिय उडानमा अहिले रहेको ९ प्रतिशतको बजार हिस्सा १७ प्रतिशत पुर्‍याउने निगमले व्यवसायी योजनासमेत सार्वजनिक गरिसकेको छ।

अहिले निगम तेस्रो धेरै यात्रु बोक्ने एयरलाइन्स कम्पनीको रूपमा छ। दुईवटा वाइडबडी भित्रिएसँगै अबको केही महिनापछि नै निगम पहिलो नम्बरमा आउने दाबी गरेको छ। उक्त वाइडबडीको लक्ष्य युरोप, अमेरिका, जापान तथा कोरिया उडानतर्फ छ। तर पहिलो चरणमा जापान, कोरिया र साउदी तीन नयाँ गन्तव्यमा उडान गर्ने भएको छ । तेस्रो जहाज आएपछि भने युरोप अमेरिका सिधा उडान भर्ने निगमले जनाएको छ।

Advertisement

Advertisement

Advertisement