तनहुँ जलविद्युत आयोजनाका लागि  निर्माण  कम्पनीहरु छानिए

Advertisement

काठमाडौं । एक सय ४० मेगावाट जडित क्षमता रहेको तनहुँ जलविद्युत आयोजनाले मुख्य निर्माण कार्यहरुको लागि निर्माण कम्पनीहरुको छनोट गरेको छ ।

आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसी छनोट भएको छ ।

त्यसै गरि आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजका काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भएको छ ।

आयोजनाले ७ साउनमा बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ । दुवै कम्पनीले ८ साउनमा पत्र बुझिसकेका छन् ।

अयोजनाले निर्माण कार्यका लागि इटालियन कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपियाँ र चाईनिज कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर तथा ३ अर्ब ८३ करोड १४ लाख रुपियाँ बराबरको खरिद सम्झौता गर्नेछ ।

पत्र बुझेको २८ दिनभित्र कम्पनीहरुले कार्यसम्पादन जमानत सहित खरिद सम्झौताका लागि आउनु पर्ने तनहुँ हाइड्रो पावर लिमिटेडका प्रवन्ध–सञ्चालक प्रदिपकुमार थिकेले बताए । ‘खरिद सम्झौता भएको दुई महिनापछि काम सुरु गर्ने र सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य लिइएको छ,’ उनले भने।

तनहुँ हाइड्रोपावर लिमिटेडले १९ माघ २०७३मा पहिलो र दोस्रो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनौट भएका कम्पनीहरुलाई बोलपत्र प्रस्ताव पेश गर्न आहन गरेको थियो । पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका ५ कम्पनीहरुमध्ये ३ वटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका ३ वटा कम्पनीहरुमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए ।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि २८ असारमा बोलपत्र आहन गरिएको छ । नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेतं) रहेको छ । यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी) ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार तथ नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।

Advertisement

Advertisement

Advertisement