पर्यटकीय महत्वका संरचना पर्यटकलाई देखाउने ललितपुर महानगरपालिकाको योजना

Advertisement

ललितपुर । ललितपुर महानगरपालिकाले पर्यटकका लागि आकर्षक देखिने भवनलगायतका संरचना बाहिरबाट देख्न सकिने बनाउने भएको छ ।

नगर क्षेत्रका विभिन्न स्थानमा रहेका अग्ला पर्खाल हटाएर बाहिरबाट देख्न सकिने पर्खाल लगाउने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिका अन्तर्गत धेरै धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले सुन्दर र महत्वपूर्ण धरोहर रहेको प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । बाहिरबाटै ती सम्पदा हेर्न मिल्ने हुँदा पर्यटकका लागि आकर्षक लाग्न सक्छ । उनले भने, ‘जुन कुरा देखाएर पर्यटक तान्न सकिन्थ्यो त्यही कुरा हामीले अहिलेसम्म लुकाएर राखेका छौँ ।’

महानगरपालिकाले पहिलो चरणमा लगनखेलमा रहेको बुद्धिविकास खेल मैदान र जावलाखेल चौरबाट बाहिर देखिनेखालको पर्खाल लगाउन लागेको छ । उनले भने, ‘जो कोहीले बाहिरबाट नै त्यहाँको सुन्दरता र भित्रका गतिविधि हेर्न पाउनेछन् ।’ आगामी दिनमा ऐतिहासिक धरोहरमा पनि काम गर्दै जाने महानगरपालिकाको योजना छ ।

आफूले विभिन्न देशमा पुग्दा महत्वपूर्ण स्थान बाहिरबाट समेत देख्न र फोटो खिच्न सक्ने गरेर राखेको पाएको प्रमुख महर्जनले बताए । उनी भन्छन्, ‘अमेरिकामा ह्वाइट हाउसका अघि बसेरसमेत जो कोहीले सजिलै फोटो खिच्न पाउँछ ।’ पाटनमा रहेका ऐतिहासिक भवन पनि बाहिरबाट हेर्न र फोटो खिच्न मिल्ने गरेर पर्खाल लगाइने उनले बताए ।

Advertisement

Advertisement

Advertisement